२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

मोबिलिटी क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : नाइमा अध्यक्ष वैद्य

बुधवार , श्रावण २१, २०८२

काठमाडौं, २१ साउन । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिँदै आएको बताउँदै यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

बुधवारबाट शुरु भएको नाममा मोबिलिटि एक्स्पोको उद्घाटन शत्रमा बोल्दै अध्यक्ष वैद्यले यो क्षेत्रले सेवा क्षेत्रमा मात्रै करिब ४ दशमलव ७ प्रतिशत रोजगारी सिर्जना गरेको तथ्यले देखाउने भन्दै जुन आफैँमा महत्वपूर्ण रहेको बताउनु भयो । यसले स्वास्थ्य, पर्यटन र वित्तीय सेवाजस्ता क्षेत्रसरह हजारौं नेपालीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीमा जोडेको वैद्यको भनाई छ ।

उहाँकाअनुसार विशेषगरी, हरित प्रविधिमा आधारित सवारी साधनको आगमनसँगै चार्जिङ पूर्वाधार निर्माण, प्रविधिक प्रशिक्षण, र नवप्रवर्तनमा आधारित कामका अवसरहरू सिर्जना भएको छ ।  

अध्यक्ष वैद्यले भन्नुभयो–‘हामीले विद्युतीय सवारी साधनको आयातसँगै देखिएको नयाँ अवसरलाई उपयोग गर्दै सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्यमा सीप विकासमा लगानी बढाइरहेका छौं । युवाहरूलाई रोजगारी योग्य बनाउन आवश्यक सीप दिने उद्देश्यले श्रमशक्ति विकास अभियानमा नाइमा सक्रिय रूपमा लागेको छ ।

यसमार्फत हामी समावेशी र भविष्यमैत्री रोजगारी सिर्जना गर्न चाहन्छौं । तर यी सबै पहलहरूलाई दीर्घकालीन रुपमा सफल बनाउने हो भने स्थिर र स्पष्ट नीतिगत मार्गदर्शन अत्यावश्यक हुन्छ । मोबिलिटी क्षेत्रको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सरकारले स्थीर नीति लिन जरुरी छ, जसले उद्योगलाई दीर्घकालीन लगानी र नवप्रवर्तनका लागि प्रेरित गर्छ ।’

उहाँले नाइमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा आवाजका रूपमा कार्य गर्दै आएको बताउनु भयो ।  गुणस्तरीय सेवा, जनशक्ति विकास र शहरदेखि गाउँसम्म सवारीसाधन तथा सेवा पहुँच पुर्याउने दिशामा नाइमाले आगामी दिनमा काम गर्ने अध्यक्ष वैद्यको भनाइ रहेको छ । बुधवारबाट शुरु भएको नाइमा मोबिलिटी एक्सपोमा २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुनेछ ।

एक्स्पोमा ५० भन्दा बढी ब्राण्डको सहभागिता रहेको नाइमाले जनाएको छ । एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभएको एक्स्पोमा १५ दुईपाङ्ग्रे, १५ चारपाङ्ग्रे र ५ व्यवसायिक नयाँ सवारीसाधनहरु सार्वजनिक गरिने यस प्रदर्शनी स्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपतकालीन सेवाको व्यवस्था मिलाइएको नाइमाले जनाएको छ ।