२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

महिलामैत्री शहर बन्दै सुनवल

मंगलवार , श्रावण २०, २०८२

परासी, २० साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई महिलामैत्री शहरको रुपमा विकास गर्न आवश्यक प्रक्रिया सुरु भएको छ । लुम्बिनी प्रदेशकी एकमात्र महिला नगरप्रमुख (मेयर) बिमला अर्यालको नेतृत्वमा सुनवललाई महिलामैत्री शहर बनाउन लागिएको हो । 

महिलामैत्री शहरका लागि स्थानीय समुदायको सहभागीतामा उहाँहरुकै चाहना बमोजिमको योजना डिजाइन प्रक्रिया अघि बढेको मेयर अर्यालले जानकारी दिनुभयो । सार्वजनिक स्थलमा महिला, बालबालिका र शारीरिक अपांगता भएका व्यक्तिहरुको सहज पहुँच र सुरक्षाको अवधारणा अनुसार महिलामैत्री शहर निर्माणको काम अघि बढाइएको हो ।

आइतबार सुनवल–६ विशासयमा स्थानीय जनप्रतिनिधि र समुदायसँग उक्त वडाको सम्भावित योजना र डिजाइनका विषयमा समूहगत छलफल गरिएको छ । उक्त वडामा रहेका खुल्ला क्षेत्रमा कस्तो पूर्वाधार निर्माण गर्न सकिन्छ भनेर वडामा रहेका सबै टोल विकास समितिका प्रतिनिधि र जनप्रतिनिधिसँग समूहगत छलफल गरिएको सुनवल नगरप्रमुख अर्यालले बताउनुभयो ।

महिलाहरुको सुरक्षा, पहुँच, सशक्तिकरण र समावेशी विकासलाई प्राथमिकता दिँदै नगरपालिकाले वडा स्तरमा छलफल र अन्तरक्रियामार्फत सम्भावनाको खोजी गरिरहेको उहाँले बताउनुभयो । ‘हामीले समुदायका व्यक्तिहरुको चाहना र स्थानीय सम्भाव्यताका आधारमा समुदायकै सहभागीतामा योजना छनौट गरी महिलामैत्री पूर्वाधार निर्माणलाई जोड दिएका छौँ”, मेयर अर्यालले भन्नुभयो, ‘परियोजनाको नाम महिलामैत्री शहर भए पनि यस अन्र्तगत अल्पसंख्यकमैत्री, अपांगतामैत्री,ज् येष्ठ नागरिकमैत्री नगरका रुपमा पनि सुनवललाई विकसित गर्ने लक्ष्य हो ।”

देशभरका ७ स्थानीय तहलाई छनौट गरी महिलामैत्री शहर निर्माण गर्ने योजना अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका पनि छनौटमा परेको हो । सुनवल नगरपालिकाले शहरी विकास मन्त्रालयसँगको सहकार्यमा यूनोप्स संस्थासँगको साझेदारीमा यो परियोजना सञ्चालनमा ल्याएको हो ।

मेयर अर्यालका अनुसार पहिलो चरणमा नगरका सबै वडाका विभिन्न खुल्ला क्षेत्रहरुको पहिचान गर्ने र समुदायको प्राथमिकताको आधारमा स्थान छनौट गरी योजनाको डिजाइन गर्ने काम भइरहेको छ ।
समुदायमा आधारित महिलामैत्री शहर निर्माण गर्ने योजना अनुसार स्थानीय समुदायको सहभागिता र आवश्यकताको आधारमा योजनाको डिजाइन गरिएको यूनोप्सका आर्किटेक्ट अनुप घिमिरेले बताउनुभयो । ‘खुल्ला क्षेत्रमा संरचना बनाउँदा स्थानीयहरुको सहभागीता, अपनत्व र दीर्घकालिन रुपमा सञ्चालन गर्न समुदायको सहभागितामा छलफल गरिरहेका छौं, ’उहाँले भन्नुभयो ।

खुल्ला स्थानको पहिचान गरेर शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका संरचना महिलामैत्री बनाउने परियोजनाको उद्देश्य रहेको छ । परियोजनाले वडा नम्बर १, ४, ५ र ८ मा स्थानीयसँगको छलफलको आधारमा खुल्ला स्थानको पहिचान गरी योजना छनौट गरी नक्सांकन गरेको छ । 

आर्किटेक्ट घिमिरेका अनुसार वडा नम्बर १ मा सोमनाथ हाटबजार, बाल उद्यान, ५ मा विष्णु पाण्डे स्मृति पार्क, ४ मा महाकवि देवकोटा क्याम्पस अगाडिको खुल्ला स्थानमा पार्क र वडा नम्बर ८ मा हाटबजारमा पूर्वाधार निर्माण गर्ने योजना अघि सारिएको छ ।