२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

स्वास्थ्यमन्त्री भन्छन् : ‘१३ महिना भयो स्वास्थ्य जनशक्ति बढाउन सकेको छैन’

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं, २० साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १३ महिनासम्म पैरवी गर्दासमेत स्वास्थ्य जनशक्ति बढाउन नसकेको बताउनुभएको छ ।

काठमाडौंमा नेपाल औषधि उत्पादक संघको ३१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले २०४८ सालपछि नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीहरुको जनशक्ति उल्लेख्य बढेको भएपनि स्वास्थ्य जनशक्ति बढाउन नसकेको बताउनु भयो । पूर्वराष्ट्रपति डा.रामवरण यादवको पालापछि अहिलेसम्म स्वास्थ्य जनशक्ति बढ्न नसकेको उहाँको भनाइ छ ।

डाक्टरहरु रहेको भएपनि आवश्यकता हुँदा पनि उनीहरुलाई काममा लगाउन नसकिएको बताउनु भयो । सरकारले छात्रावृत्तिमा पढाउने, योग्य बनाउने तर आवश्यक पर्दा काममा राख्न नसक्ने स्थिति रहेको उहाँको गुनासो छ । नेपाल दक्ष बनाएर जनशक्ति विदेश पठाउने देश भएको जिकिर गर्नुभयो । 

मन्त्री पौडेलले भन्नुभयो, ‘५० लाख नागरिकले अहिले पनि अस्पताल गएर उपचार गर्न सक्दैनन् । सरकारले जम्मा ५ प्रतिशत पनि लगानी गरेको छैन । आज २०४८ सालपछि सेनामा कति संख्या बढ्यो, प्रहरीमा कति संख्या बढ्यो ? निजामतिमा कति संख्या बढ्यो ? कहाँ बढेन ? तर रामवरण यादवको पालापछि आजसम्म स्वास्थ्य क्षेत्रमा जनशक्ति बढेको छैन ।

१३ महिना भयो मैले यसको लागि प्रयास गरेको, अझै पनि डिबेट गरिरहनुपरेको छ । डाक्टर छन्, सरकारी स्वास्थ्य संस्थामा डाक्टरको आवश्यकता छ । हामीले उहाँहरुलाई आवश्यकता भएर पनि जागिर दिन सकिरहेका छैनाँै । सरकारले छात्रावृत्तिमा पढाउँछ, पढाएर योग्य बनाएका मानिसहरुलाई आवश्यक छ तर काम दिन सकिएको छैन ।

नेपाल यस्तो देश हो  छात्रवृत्तिमा पढाएर डाक्टर बनाउँछ, प्रशिक्षण दिन्छ अनि दक्ष बनाएर त्यो दक्ष जनशक्ति विदेश पठाउँछ । हामी दक्ष जनशक्ति दिने देशका नागरिक पनि हौँ ।’

मन्त्री पौडेलले औषधिको मूल्य निर्धारण हुनुपर्ने बताउनु भयो । स्वास्थ्य क्षेत्रको सुधारका लागि औषधि सुशासन अनिवार्य रहेको बताउनु भयो । सरकारले बीमा प्रणालीलाई व्यवस्थित बनाउन चाहेको पनि बताउनु भयो । राजनीतिप्रतिको अविश्वास डेलिभर हुन नसकेर पैदा भएको बताउनु भयो ।