२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

बर्खाको बेला कान्छीबजारतिर ....।

मंगलवार , श्रावण २०, २०८२

सहरोन्मुख गाउँको नाम हो कान्छीबजार । यो ठाउँको नाम कान्छीबजार कसरी रहन गयो होला, खोजको विषय छँदैछ ! हुन त म यो बजारमा पहिलोपटक २०४७ सालतिर पुगेको थिएँ । त्यतिबेला आजको जस्तो कान्छीबजार थिएन । मंगलापुर, सेमराबजार, कान्छीबजार हुँदै मक्रहरको भाटा गाउँ पुगेको थिएँ । कान्छीबजार, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मा पर्छ । यो पुरानो बजार हो । 
अव्यवस्थित बसोबासीको घनत्व रहेको उक्त ठाउँमा थारु, नेवार र मगरको जनसंख्या धेरै छ । अन्य जातीको समेत बसोबास भेटिन्छ । कान्छीबजारको वरिपरी सग्रहवा, मैनहवा, जमुवानी, बेवरा गाउँहरु छन् । गाउँमा कृषिमार्फत् जीवनयापन गर्नेको संख्या उल्लेख्य पाउन सकिन्छ । हुन त पशुपालकहरु पनि छन् ।

हाम्रो टोलीमा (शिक्षाका जानकार होमबहादुर गलामी, लुम्बिनी प्रदेश, मुख्यमन्त्रीका ग्रामीण विकास विज्ञ युवराज घिमिरे, पत्रकाकर स्वस्तिक श्रेष्ठ, पशुपालक धनबहादुर बुढाथोकी र म ) साउन महिनाको १९ गते,सोमवार बिहान ११ बजे बुटवलबाट हिड्ने भनेतापनि साउने पानीले उछारपाटो दिएन । कान्छीबजार नजिकै रहेको उद्यमी टोल पुग्दा दिउँसोको १ बज्नै आँटेको थियो । हामीलाई सो टोलमा पुर्याउन प्रेरित गर्ने पत्रकार स्वस्तिक श्रेष्ठ नै थिए । उनले गत हप्ता त्यहाँ पुगेर स्थानीय किसानहरुका उन्नति र प्रगतिका कथा लेखेका थिए । त्यसैलाई पछ्याउँदै हामी त्यहाँ हान्निएका थियौं ।

फेरि पनि निष्ठुरीको ..................। 
चिनेका पुराना साथी घनसिंह पुनमगर भेटिए सोही ठाउँमा । उनीसँगै करिब ३० वर्षदेखि चिनचान र हिमचिम भए पनि पछिल्ला ५ वर्षदेखि भेटघाट र बोलचाल हुन सकेको थिएन । उनको ससुराली मेरै गाउँ, पाल्पाको नुवाकोटमा रहेको छ । दुईछोरा र दुईछोरीका बाबा बनिसकेका रहेछन् घनसिंह । उनी गीतसंगीतमा खुबै रमाउने मान्छे हुन् । २०६० तिर उनले मेरो आधुनिक गीतमा संगीत  र नारायण थापाको स्वर भरेर बुटवलको औद्योगिक प्रदर्शनीमा गाउँदा प्रथम भएको हिजोजस्तै लाग्छ । ५ हजार नगद रुप्पे नारायण थापाले चरप्पै बुझेका थिए । ‘फेरि पनि निष्ठुरीको किन याद आउँछ ...?’ बोलको त्यो गीत, पछि बेग एल्बममा समाहित भएको उनै घनसिहंले सुनाएका थिए ।

उनकै घरमा चियापानी, फलफूल खाँदै गाउँमा रहेका १ सय ५ घरमध्ये १७ घरमा गरिएको हाँसपालन, करेसाबारीका र मौरीपालनको बारेमा घनिभूत छलफल गरियो । धानखेतमा माछा र हाँसपालन सम्भव र उत्कृष्ट रहेको प्रत्यक्ष आँखाले देख्ने अवसर मिल्यो । भविष्यमा मौरीपालनलाई अघि बढाउने योजना रहेको समेत मालुम भयो । पढ्दै कमाउँदै कार्यक्रमको नौलो अभ्यास रहेको छलफलका क्रममा थाहा पाइयो । घरका छोराछोरीलाई पकेट मनीका लागि न्यूनतम १५ वटा हाँस पाल्न दिने र त्यसलाई स्याहारसुसार र हेरचाह तिनै छोराछोरीले गर्ने बानीको विकास गर्न यस्तो योजना ल्याइएको डा.भुसालले बताए । सानैदेखि उद्यमशील बनाउन सकिएमा उनीहरुले पछि आफैले ठूलो स्केलमा हाँसपालनलाई उद्यमका रुपमा सुरु गरेर विदेश जाने प्रचलनलाई रोक्न सम्भव हुने जानकारी पाइयो ।

धानखेतीभित्र हाँसपालनले फाइदा...................
घर वरिपरी करेसाबारी निर्माण गर्दा वातावरण हरियाली, आफूलाई चाहिने तरकारीको आपूर्ति हुने, सुन्दरता थपिने र गाउँकै पहिचान नौलो हुने भएको हुँदा यस्तो योजनालाई कार्यान्वयनमा ढालिएको सुनाए । पक्की घरअघि पक्की बाटो । घरको वरिपरी करेसाबारीकै कारण घनसिंहले वर्षामासबाहेक तरकारी किनेर नखाएको पनि ४ वर्ष भएछ । उनका साहिँला भाइ रामबहादुर पुनले गतवर्ष धानखेतमा माछापालन गरेर १० हजार रुपैयाँ कमाएका रहेछन् । यतिबेला घनसिंह र डा. दामोदर भुसालले धानमा हाँसखेती गरेका रहेछन् । डा. भुसालका अनुसार समय सुहाउँदो धान र हाँसबाट मनग्य आम्दानी गर्न सकिने रहेछ ।

Haas paalan.jpg

धानमा हाँसपालन गर्दा माटो खुकुलो हुने जसका कारण धानमा पानी र मल सजिलै जराहरुमा पुग्ने, कीराहरु समेत हाँसले खाई भएकाले धानखेती सप्रिएको उल्लेख गरे । 
हाँसको ह्चाचिङ्ग, दानापानी, अण्डा र सिंगो हाँसबाट थुप्रै आम्दानी गर्न सकिने उनै डा.ले बताए । स्वास्थ्यबद्र्वक मासुका रुपमा हाँसलाई लिन सकिन्छ । छोइलामात्र होइन, हाँसको तरकारी (डक करी) बनाएर खाँदा स्वादै जिभ्रोमा झुण्डिने गर्छ । बुटवलमा हाँसको मासु पाइने गरी फ्रेस हाउस खोल्न सकेमा ‘बजार मिल्ने थियो ।

2222222222222222222.jpg

हाँसपालन गरिएको क्षेत्रको अवलोकन गरियो । सामान्यतया २५ वटा हाँसपाल्दा तीन महिनामा आठ हजार रुपैयाँको दाना खर्चिनु पर्दोरहेछ । ती २५ वटा हाँस बेच्दा २५ हजार रुपैयाँ पर्ने रहेछ । यो कुरा ह्वाइट पेकिड जातको हाँस पाल्दाखेरिको हो । घरको अगाडि फूलबारी, सबै घर पछाडि करेसाबारी र हरेक घरमा मौरीघार ।’ उद्यमी टोलको नारा हो । यही नारालाई साकार बनाउँदै समृद्धिको सपना बोकेको गाउँ हो,उद्यमी टोल।

WhatsApp Image 2025-08-04 at 6.43.25 PM.jpeg

निःशुल्क बेलौती चाख्यौं................। 
डा.भुसालले इन्नोभेसन कृषि फर्म सञ्चालन गरेका छन् । आफै स्वरोजगारी भएका छन् । धानखेतीभित्र कसरी हाँसपालन सम्भव छ भनेर दुनियाँलाई सिकाएका छन् । खण्डखण्डका हाँस पालेका छन् । अण्डा बेचेका छन् । चल्ला बेचेका छन् । सहरोन्मुख गाउँ, कान्छीबजार नजिकै रहेको उद्यमी टोलका मानिसहरुलाई उ्रद्यमी बनाउन पहल गरेका छन् । उत्प्रेरित गरेका छन् ।

हामीले उनको फर्मभित्र फलेका बेलौती निःशुल्क चाख्यौं । अहा ! कति मीठो । नूनसँग डोबेर खाँदा त । माछापोखरी हेर्यौं । धान रोप्ने आधुनिक मेसीन भने प्लाष्टिकले ढाकिएको रहेछ । तरपनि धानखेतीभित्र हाँसहरु पौडीरहेका, दौडिरहेका भेट्यौं । सिमसिम पानी परिरहेकै थियो । हामीले सबै साथीहरुलाई हात हल्लाएर बिदा भयौं ।

WhatsApp Image 2025-08-04 at 6.42.30 PM.jpeg

उद्यमी टोलमा होमस्टे चलाउने रहर रहेछ । गाउँको उत्पादन मुख्यमन्त्रीलाई देखाउने सपना बोकेका रहेछन् । आफ्नो सहरोन्मुख गाउँलाई समृद्धिसँग जोड्ने इच्छा चाँडै पूरा गर्ने अठोट बोकेका उनीहरुको चाहना छिट्टै पूरा हुन सकोस् । समय मिलाएर मुख्यमन्त्रीलाई गाउँमै ल्याउन प्रयास गर्ने युवराज घिमिरेले वचन दिए ।

WhatsApp Image 2025-08-04 at 6.42.18 PM.jpeg

गुगल नक्सा हेर्दै फर्किदा........। 
सेमरा बजारमा रहेको प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सीता उपाध्याय र व्यवस्थापक जमुना गिरीसँग भलाकुसारी गरी क्षणभर बस्यौं । अनि हतारमा नमस्ते गरेर बुटवलतिर हुँइकियौं । उनीहरुको चिया पनि पिउन समेत ढिला भयो । केही समय मधेशको बाटोमा अलमल परेपछि गुगल नक्साको निर्देशनअनुसार शिवपुर, मणिग्राम हुँदै जोगीकुटीमा रहेको लट्टे बाको मःम पसलमा झोल मःमले पेट सेकियो । चिसो मौसममा तातो महसुस भयो । त्यतिनै बेला मेरो खल्तीबाट एउटा बाघ फुत्त हाम फाल्यो । 
मभने जोगीकुटीमै बसें । साथीहरु बुटवलतिर लागे । पानी परेकै थियो । साउने सोमबारलाई कृषिसँगै जोड्ने अवसर प्राप्त भयो । सबै खुसी भयौं । छोटो र मीठो यात्राले नौलो र ताजा अनुभव बटुल्न सहयोग मिल्यो ।