२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

छोरीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउँदै बुटवल उपमहानगर

आइतवार , श्रावण १८, २०८२

बुटवल, १८ साउन । सम्भवतः नेपालमै पहिलोपटक पढ्न चाहेका तर नपाएका ४० जना छोरीहरुलाई निःशुल्क प्राविधिक शिक्षा पढाएर रुपन्देहीको बुटवल उपमहानगरपालिकाले उदाहरणीय काम गरेको छ । छोरीहरुलाई सीपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उपमहानगरले बुटवल टेक्निकल इन्ष्टिच्यूटमा निःशुल्क प्रि.डिप्लोमा (ओभरसियर तह) प्राविधिक शिक्षा पढाउने कार्यक्रम सञ्चालन गरेको हो । 

उपमहानगर प्रमुख खेलराज पाण्डेयका अनुसार खास गरी ईच्छा र चाहना हुँदाहुँदै पनि पारिवारिक समस्या, आर्थिक अभाव लगायतका विभिन्न कारणबाट प्राविधिक शिक्षा पढ्न नपाएका ४० जना छोरीहरुलाई प्रावबधिक शिक्षा प्रदान गर्न थालिएको छ । बुटवल उपमहानगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा २० जना छोरीहरुलाई निःशुल्क रुपमा डिप्लोमा तहको प्राबिधिक शिक्षा पढाउने योजना तर्जुमा गरेको थियो । 

उक्त योजनालाई निरन्तरता दिदै यस आर्थिक वर्षमा पनि उक्त कार्यक्रम सञ्चालन गरेपछि अहिले ४० जना छोरीहरुले निःशुल्क रुपमा प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाएका छन् । उनीहरुले बुटवल टेक्निकल ईन्ष्टिच्युटमा ईलेक्ट्रिकल र मेकानिकल विषयमा दुईवर्षे प्रि.डिप्लोमा कोर्ष अध्ययन गरिरहेको र सबै शैक्षिक शुल्क उपमहानगरले भुक्तानी गर्ने प्रमुख पाण्डेयले बताउनुभयो । 

एसईई वा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका तर, आर्थिक अभाव, पारिवारिक समस्या लगायतका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित रहेका छात्राहरुलाई प्राविधिक शिक्षा प्रदान गरी स्वरोजगार, आत्मनिर्भर र सीपयुक्त बनाउने उद्देश्यले छोरी पढाउ कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । कार्यक्रमले निरन्तरता पाउनुका साथै स्थानीय सरकारको जनताप्रतिको जिम्मेवारी र दायित्व उजागर गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने उहाँ विश्वास ब्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो–‘छोरीको शिक्षामा लगानी गर्ने सोच अझै पनि नेपाली समाजमा व्यापक रूपमा विकास भइसकेको छैन । त्यसमा पनि अझ प्राविधिक शिक्षा । यस्तो अवस्थामा बुटवल उपमहानगरपालिकाले छोरीहरुलाई प्राविधिक शिक्षा आर्जन गर्न विशेष जोड दिएको छ । प्रि.डिप्लोमा इलेक्ट्रिकल र मेकानिकल इञ्जिनियरिङमा २०–२० जना गरी कुल ४० जना छोरीहरुले यो अवसर पाएका छन् ।’
छात्राहरुलाई अध्ययन गराई प्राविधिक क्षेत्रमा दक्षता बढाउने गरी बुटवल उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा नमुना कदम चालेको हो । नेपालमै नमूना हुने यसप्रकारको शैक्षिक कार्यक्रमले शिक्षा मात्रै होइन सीपलाई समेत सँगसँगै अगाडी बढाइने उहाँको भनाइ छ । ‘यो सिकाइका रुपमा लिनेछ, जस्ले अवसरबाट वञ्चितहरुको ढोका खोल्न सक्नेछन् । यसरी प्राविधिक शिक्षा प्राप्त छोरीहरु भविष्यमा सफल व्यवसायीक रुपमा आत्मनिर्भर भएर अघि बढ्नेछन्, ’उहाँले भन्नुभयो । 

बुटवल मात्रै होइन गुल्मी, पाल्पा, अर्घाखाची, स्याङ्गजा, दाङ्ग, रोल्पा, रुकुम, नवलपरासी, कपिलवस्तु जिल्लाका छोरीहरुले यो अभियानमा सहभागीता जनाएका छन् । आर्थिक रूपमा कमजोर परिवार, आदिवासी, जनजाती, दलित समुदायका जुन पढ्ने रहर भएर पनि पढ्ने अवशरबाट बञ्चित रहेका छोरीहरुको उज्जवल भविष्यको सपना साकार पार्न नेपालमै पहिलोपटक यसरी धेरै संख्यामा छोरीहरुलाई निःशुल्क रुपमा प्राविधिक शिक्षा पढाउन थालेको उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो । 

स्थानीय सरकार, शिक्षण संस्था र निजी क्षेत्रको सहकार्यले अब सम्भावनाको नयाँ ढोका खोल्न थालेको उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो–‘त्रिपक्षीय सम्झौता यसको प्रमाण हो कि जब राज्य र समाज हातेमालो गर्छन्, तब विकास सम्भव हुन्छ । यस अभियानले ४० जना छोरीहरूको मात्र जीवन परिवर्तन गर्ने छैन, यो उदाहरण बनेर अन्य नगरपालिकाहरूलाई पनि प्रेरित गर्नेछ । अझ धेरै नगरपालिकाहरूले यस्ता अभ्यासहरूलाई आत्मसात गरेमा हजारौं युवतीहरूले जीवनको नयाँ दिशा पाउनेछन् ।’ 

प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआई) मा सैद्वान्तिक र देवदह मेडिकल कलेजमा प्रयोगात्मक रुपमा तालिम सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार यसरीे ‘छोरी पढाऊ, समाज बनाऊ’ त्रिपक्षीय अभियानले सार्थक समाज निर्माणमा जोड दिनेछ । उहाँले भन्नुभयो–“यस सम्झौतामार्फत बुटवलका ४० जना छोरीहरूलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गरिनेछ । बुटवल टेक्निकल इन्ष्टिच्युटमा उनीहरूले इलेक्ट्रिकल तथा मेकानिकल विषयमा व्यवसायिक ज्ञान र सीप हासिल गर्नेछन् । यो केवल एउटा तालिम नभइ सामाजिक परिवर्तनको बीजारोपण पनि हो, जहाँ छोरीहरूलाई सीप सिकाएर आत्मनिर्भर र सबल बनाइँदैछ ।’

कार्यक्रममा देवदह मेडिकल कलेजका गोपाल पोखरेलले जीवनको मूल मन्त्रलाई सन्दर्भमा जोड्दै भन्नुभयो–‘जीवन प्राक्टिकल हो, सीप सिकेर आत्मनिर्भर बन्न सकिन्छ । यही आत्मनिर्भरता नै परिवर्तनको जरो हो।’पोखरेलका अनुसार एउटा सैद्वान्तिक ज्ञान मात्र नभइ व्यवहारिक सीपले मात्र व्यक्तिको जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउन सक्छ ।

WhatsApp Image 2025-07-30 at 7.17.21 PM.jpeg

बीटीआईका तालिम विभाग प्रमुख मानकाजी कुमालका अनुसार महिलाहरूलाई सीप सिकाइमार्फत आर्थिक रूपमा सबल बनाउनु नै दिगो सशक्तिकरणको बाटो हो । उहाँले भन्नुभयो–‘छात्राहरुलाई प्राविधिक क्षेत्रमा अगाडि बढ्नका लागि मद्दत पुग्ने गरी र प्राविधिक जनशक्ति उत्पादन गर्न यसले मदत पुग्नेछ ।’ बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई ) का निमित्त प्रशासकीय अधिकृत सम्झना सुवेदीका अनुसार पढ्ने चाहना भएका र आर्थिक अवस्था तथा अन्य कारणले अवसरबाट वञ्चित रहेका नानीहरुलाई बुटवल उपमहानगरले दिएको यो अवसर निकै सराहनीय रहेको छ । 

कार्यक्रममा (बीटीआई) कै पूर्व विद्यार्थी तिलिसरा दर्लामीले आफ्नो जीवनको अनुभव सुनाउँदै भन्नुभयो–‘म पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास यस टेक्निकलले जगाएको छ । हाल उहिाँनेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रमा इलेक्ट्रिकल सुपरभाइजरको रूपमा कार्यरत हुनुहुन्छ । ‘त्यो बेला मसँग सपना थियो । तर, साधन थिएन, उहाँले भन्नुभयो–बीटीआईको तालिमपछि मैले काम सुरु गरें । आज म आत्मनिर्भर छु । यही परिवर्तन अरू छोरीहरूले पनि अनुभव गर्न पाउन् भन्ने मेरो चाहना हो ।’

त्यस्तै जयन टेक्निकल कलेजकी प्रमुख नम्रता थापाले बुटवल उपमहानगरपालिकाले ल्याएको यो कार्यक्रम समावेशी र रुपान्तरणमुखी रहेको बताउनुभयो । छोरीहरूको लागि यस्तो अवसर सृजना हुनु स्वयंमा समाजको सोचमा आएको सकारात्मक परिवर्तन हो, उहाँले भन्नुभयो–‘यस्ता अभियानहरूले समाजमा दीर्घकालीन असर पार्छन्, जसले समाजमा सुधार ल्याउँछ ।’छोरी पढाउँ, समाज बनाऔं, अभियानले आफुहरु निकै खुशी भएको तालिममा सहभागी गुल्मीकी चन्द्रकला कुमालको भनाइ छ । हामी अवसरको खोजीमा थियौ, यो प्राविधिक शिक्षाले हाम्रो जीवनमा निकै परिवर्तन ल्याउनेछ  । प्रत्यक्ष रुपमा पनि सीपयुक्त शिक्षा र अवसरमार्फत हामीलाई आत्मनिर्भर बनाउने प्रयास गरेकोमा धन्यवाद समेत टक्राउँछौं, ’उहाँले भन्नुभयो ।

WhatsApp Image 2025-07-30 at 7.17.19 PM.jpeg

इलेक्ट्रिकलतर्फ वायरिङ, मोटर मर्मत, ट्रान्सफर्मर जडान आदि जान्ने हुँदा स्वरोजगारको राम्रो सम्भावना र छ । त्यस्तै प्रि–डिप्लोमा मेकानिकल इन्जिनियरिङले मेसिनसम्बन्धी ज्ञान दिनेछ भने मेकानिकलतर्फ मोटर, पम्प, ईन्जिन, वेल्डिङ, फिटिङ आदिमा दक्षता आर्जन, स्वरोजगारको सम्भावना, वर्कसप खोल्न, गाडी मर्मत गर्ने ग्यारेज चलाउन सकिने सीप प्राप्त हुन्छ भने मिस्त्री, म्यान्टेनेन्स टेक्निसियन, वेल्डर, प्लम्बरको रूपमा काम गर्न सकिनेछ ।