
आइतवार , श्रावण १८, २०८२
तिलोत्तमा, १८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आबद्ध विशिष्ट शेयर सदस्यहरुसँग अन्तरक्रियासहितको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । सहकारीले पछिल्लो सहकारीसम्बन्धी विशेष जानकारी र सदस्यको विश्वासलाई अटुट राख्न र जोखिम कम गर्न जानकारी गराउने उद्देश्यले आफ्ना विशिष्ट सदस्यहरुलाई प्रशिक्षण दिएको हो ।
पछिल्लो समय सहकारीप्रति अन्योल सृजना भएको र छिमेकी सहकारीप्रति जनताको विश्वास टुटिरहेको बेला जनउत्थानले आफ्ना विशिष्ट सदस्यहरुलाई राखी सहकारीको पछिल्लो अवस्थाबारे बताएको हो ।
उक्त कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापाले सहकारीको पछिल्लो अवस्था, जोखिम न्यूनीकरण र समस्या समाधानका बारेमा विशिष्ट सदस्यहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा करिब १ सय ५० सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष गिरी पुन मगरले बोल्दै सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत सदस्यहरुलाई सचेतनाका लागि प्रशिक्षण दिएको बताउनुभयो । उहाँले यो प्रशिक्षणले हरेक सदस्यको विश्वास र सञ्चालक तथा सदस्य र कर्मचारीको त्याग तपस्या र सुशासन पारदर्शिता र जवाफदेहीताले सहकारी यो स्थानमा पुगेको बताउनुभयो । उहाँले हरेक सदस्यले सहकारीको बारेमा दैनिक रुपमा जानकारी राख्नु पर्ने र सञ्चालक, बचतकर्ता तथा ऋणीहरुले समेत आ–आफ्नो दायित्व सम्झेर हरेक कुराको निगरानी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीले पछिल्लो समय केही सहकारीले सञ्चालक र व्यवस्थापक मिलेर जनताको पसिनाको धन कुम्ल्याएको घटनाले आफू दुःखी भएको बताउनुभयो । उहाँले गल्ती गर्नेले कठघरामा उभिएर सजाय भोग्नुपर्ने बताउँदै जनउत्थान सहकारीले आफूलाई अब्बल बनाउँदै त्यस्ता ठगहरु, जसले सहकारीको मुकुण्डो लगाएर समाजमा अराजकता देखाएका छन् तिनीहरुलाई गतिलो झाप्पड हानेको बताउनुभयो । समाज, देश र विदेशमा समेत राम्रो छवि बनाएको जनउत्थानले तिलोत्तमाको शान राखेको भन्दै उहाँले आगामी दिनमा अझ प्रगतिको कामना समेत गर्नुभयो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले सहकारीले देखाएको बाटो, कार्यविधि र कानूनमा रहेर काम गरे ठगिने र ठग्ने खेल बन्द हुने बताउनुभयो । उहाँले जनउत्थान सहकारी देशको शान भएकोले यसका सदस्यहरु ढुक्क भएर कारोबार गर्न समेत सुझाव दिनुभयो ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मेखराज पुन, निवर्तमान अध्यक्ष ज्ञानु पौड्याल लगायतले बोल्दै सहकारी शिक्षाले सहकारीप्रतिको विश्वास अझ बटुलेको र जनताको घरघरमा पुगेको सहकारीले सदस्यको मन जितेको बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारी, पूर्व नगर उपप्रमुख उमा काफ्ले, लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरी लगायतको उपस्थिति थियो ।
कार्यक्रमममा विशिष्ट सदस्यहरुले सहकारीको जगेडा कोष, ऐज केयर, तरलता, बचत कोष, बीमा, सामाजिक कार्य, कर्मचारी र सञ्चालकहरुको विषयमा अन्तरक्रियासहितको प्रश्नोत्तर गरेका थिए । सहकारीका उपाध्यक्ष सरु रानाको स्वागत तथा सचिव अन्जु जैसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij