
शनिवार , श्रावण १७, २०८२
बुटवल, १७ साउन । रुपन्देहीको बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनीस्थित सभाहलमा शनिबार कक्षा १२ का विद्यार्थी सन्देश भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारी रहनुभएको थियो ।
स्वागत कार्यक्रममा अभिभावक संघ केन्द्रीय सदस्य तथा रूपन्देही अध्यक्ष अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारी, क्याम्पस प्रमुख मनोज मरासिनी, क्याम्पसका अध्यक्ष अजित खनाल, कोडिनेटर नारायण सापकोटा, भरत क्षेत्री, बालकृष्ण पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख आकर्षण रूपमा चर्चित हास्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहेको थियो । आफ्ना हास्यव्यंग्यका माध्यमबाट गजुरेलले विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो । यसले कार्यक्रमलाई थप रमाइलो बनाउनुका साथै सहभागीहरूमा सकारात्मक ऊर्जा समेत सञ्चार गरेको थियो । गजुरेलको प्रस्तुतिसँगै कक्षा १२ का विद्यार्थीहरूले विभिन्न नृत्य र साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्दै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा मोटिभेसनल स्पिकर उपेन्द्र अधिकारीले विद्यार्थीहरूलाई पढाइप्रति आकर्षित गर्न र शैक्षिक जीवनमा सफलता हासिल गर्न विभिन्न प्रेरणादायी विचारहरू प्रस्तुत गर्नुभएको थियो ।
गौतमबुद्वको पावनभूमि शान्ति र आध्यात्मिकताको मुहान, जहाँबाट बुद्ध दर्शनको ज्योति फैलिएको मानव जातिको लागि प्रेरणा र शान्तिको सन्देश दिने पवित्र भूमिमा आयोजना गरिएको स्वागत समारोहले विद्यालयको शैक्षिक वातावरणलाई थप जीवन्त बनाउँदै विद्यार्थीहरूबीचको सम्बन्धलाई मजबुत बनाएको भन्दै उपस्थित सम्पूर्णमा प्राध्यापक सुमन भुसालले विद्यालयकातर्फबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले केही वर्षभित्रै अक्सफोर्डलाई विदेशी विद्यार्थीले समेत पढ्न आउने वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले यसलाई साकार पारेरै छाड्ने दृढता व्यक्त गर्दै त्यसको गृहकार्यमा आफूहरू लागेको बताउँदै अबको केही बर्षमा अक्सफोर्ड विदेशी विद्यार्थीहरूले पढ्न आउने थलो बन्नेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले अक्सफोर्डले विगतदेखि नै उत्कृष्ट रिजल्ट ल्याउँदै आएको स्मरण गर्नुभयो । उहाँले यही महिनाभित्र आउने कक्षा १२ को रिजल्टमा पनि नेपाल प्रथम भइ उत्कृष्टता हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउँदै शिक्षालाई व्यवहारसँग जोडनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, दुर्गादत्त भण्डारी, विद्यार्थीहरू प्रतिक भण्डारी, द्विजा आचार्य, विभेचना प्रसाई, सन्ध्या यादव र स्वीकृति अवस्थी लगायतका लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन विद्यार्थी विज्ञान हमाल र निकिता चौहान तथा कार्यक्रमको संयोजनको जिम्मेवारी झविन्द्र मरासिनीले सम्हाल्नुभएको थियो । स्वागत कार्यक्रम मनोरञ्जन, प्रेरणा र आपसी सद्भावको एक अनुपम संगम बनेको कोडिनेटर बालकृष्ण पोख्रेलले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij