२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

बुटवल अटोले मनायो ३० औं स्थापना दिवस

शुक्रवार , श्रावण १६, २०८२

बुटवल, १६ साउन । बुटवल अटो इञ्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेका विभिन्न कार्यक्रमहरू समापन गरेको छ । अटो इञ्जिनियरिङ क्षेत्रमा नाम कमाएको संस्थाले साउन ४ गतेदेखि स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमसहित सुरु गरेको स्थापना दिवसका कार्यक्रम बिहीबार समापन गरेको हो । 

समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका–२ का वडाअध्यक्ष सुनिल शाक्यले बुटवलको पहिचान अटो भिलेजले बनाएको बताउँदै अझै गुणस्तरीय कार्य गर्दै यो क्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले वडा तथा नगरको बजेटबाट यहाँका जनशक्तिको क्षमता अभिवृद्धि गर्ने लगायतका विभिन्न कार्यहरूको लागि वडाले बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो । 

संस्थाका संस्थापक अध्यक्ष खड्ग बहादुर गौतमले स्थापना दिवस भन्नु संस्थाको जन्मदिन भएकोले स्थापनाको उद्देश्य अनुसारका गतिविधिमा संस्थालाई चलायमान बनाउन आग्रह गर्नुभयो ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका निवर्तमान अध्यक्ष जर्नादन गैरेले देशभर नै व्यवसायीलाई संगठित गर्दै बुटवलले नेतृत्व लिने गरी कामहरू भइरहेको बताउँदै महासंघको भवन बुटवलमा रहनु महत्वपूर्ण कुरा रहेको उल्लेख गर्नुभयो ।

संस्थाका निवर्तमान अध्यक्ष तथा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका सचिव तुल्सीराम न्यौपानेले संस्थाको गतिशिलताले व्यवसायीहरूका समस्या समाधानमा उत्प्रेरित भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष प्रेम गौचनले साउन ६ गते वृक्षरोपण, ९ गते ब्याडमिन्टन तथा १९ गते फुटसल प्रतियोगिता सञ्चालन र मैनाबगर अटो भिलेजलाई सौन्दर्यीकरण लगायतका कामहरू भइरहेको जानकारी दिनुभयो ।

सो अवसरमा स्थापना दिवसमा भएका प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गर्नुका साथै कार्यक्रम संयोजकहरूलाई सम्मान समेत गरिएको थियो । उद्योग उपाध्यक्ष ध्रुवराज भुसालको स्वागत तथा महासचिव पुनित पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।