
शुक्रवार , श्रावण १६, २०८२
भैरहवा, १६ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले कक्षा ८, ९ र १० मा अध्ययनरत २ सय बढी विद्यार्थीहरुलाई ट्राफिक सचेतना तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।
बिहीबार भैरहवाको पश्चिमाञ्चल इङ्लिस स्कूलमा कार्यक्रम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले ट्राफिक सचेतना नहुँदा र ट्राफिक नियम पालना नगर्दा पछिल्लो समय दुर्घटनाको दर बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि विद्यालय तहबाटै सचेतना जरुरी रहेको बताउनुभयो । अध्यक्ष रायमाझीले सडक प्रयोगकर्ताको लापरवाहीका कारण पनि सडक दुर्घटना हुने भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले समुदाय तहमा पुगेर गरिरहेको ट्राफिक सचेतना उपलब्धीमूलक भएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले प्रशिक्षण दिदै सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी दिनुभयो । उहाँले विद्यार्थीले सडक पार गर्दा वा पैदल यात्रा गर्दा जेब्राक्रस प्रयोग गर्न आग्रह गदै सडकको दाँया छेउबाट मात्र पैदल हिड्नुपर्ने प्रशिक्षणका क्रममा बताउनुभयो ।
सवारीसाधन चलाउदा अनिवार्य सवारीचालक अनुमतिपत्रको जरुरी रहेको भन्दै प्रहरी निरीक्षक के.सी.ले सवारीदर्ता प्रमाणपत्र (ब्लुबुक) समेत साथ हुनुपर्ने कानूनी प्रावधान भएको विद्यार्थीहरुलाई बताउनुभयो ।
कार्यक्रममा ट्राफिक चिन्ह तथा सवारीको गति, सवारी चलाउँदा थाहा पाउनुपर्ने नियमहरुको विषयमा जानकारी गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव निरीक्षक दुर्गादत्त भट्टले बताउनुभयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक निरीक्षक युवराज सेनले विद्यालय तहबाटै ट्राफिक सचेतना आवश्यक रहेको भन्दै यहाँ सिकेको ज्ञान घरपरिवार तथा साथीभाइहरुलाई समेत सिकाउन आग्रह गर्नुभयो ।
पश्चिमाञ्चल इङ्लिस स्कूलका प्राचार्य तथा कार्यक्रमका अध्यक्ष राजु प्रसाद ढकालले ट्राफिक सचेतना कार्यक्रम विद्यार्थीहरुलाई जरुरी भएको भन्दै यस्ता कार्यक्रम वार्षिक रुपमा सबै विद्यालय तहमा हुनुपर्नेमा जोड दिनुभयो ।
स्कूलका सहायक प्राचार्य नवराज ढुंगानाको स्वागत मन्तव्य तथा हिमलालको पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij