२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन : वामदेव गौतम

बुधवार , श्रावण ७, २०८२

काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने घोषणा गर्नुभएको छ ।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गर्नुभयो ।

उहाँले काम दिनको निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन आग्रह गर्नुभयो । उहाँले काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म आफू पार्टीमा बस्न नसक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मलाई के पद दिने भन्ने विषय उठेको छ । मलाई चाहिन्न पद । मैले त्यो पहिला पनि भेनको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरुले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् । काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिन ।

यदी तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरुसँग बस्न सक्दिन । मलाई काम गर्ने क्षेत्र चाहियो । एउटा जिल्ला की, दुई वटा जिल्ला की आधा जिल्ला की, एउटा पालिका की क्षेत्र भनेको । जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यि संरचनाहरु छन् । जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने   हुन्छ ।’

वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखेको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पु¥याउनुपर्ने बताउनु भयो ।