
मंगलवार , श्रावण ६, २०८२
काठमाडौं, ६ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले महिला श्रमीकले देशभित्र वा बाहिर रोजगारको क्रममा विभिन्नखाले समस्या भोग्नु परिरहेको बताउनुभएको छ ।
मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिला श्रमीकहरुले श्रम गर्ने सिलसिलामा विभिन्न चुनौतिहरुको सामना गर्नु परेकाले त्यसलाई हटाउन जरुरी रहेको बताउनु भयो ।
रोजगारीका लागि महिलाहरु विदेश जाँदा ठगी, शोषण, मानव बेचबिखनमा पर्नसक्ने उच्च जोखिम रहेको बताउनु भयो । सीपको अभाव बिनै जाँदा काममा दक्षता नभएकाले रोजगारदाताले समयमै पारिश्रमीक नदिने, शोषण गर्ने गरेको पाइएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जुनसुकै अवस्थामा चाहे त्यो देशभित्र होस् वा बाहिर जुनसुकै अवस्थामा पनि रोजगार गर्ने सिलसिलामा विभिन्न चुनौतिहरुको सामना गर्नु परिरहेको छ । यसमा विशेष गरेर वैदेशिक रोजगारीमा हेर्ने हो भने रोजगारीको सिलसिलामा हेर्ने हो भने रोजगारीका लागि महिलाहरु विदेश जाँदा ठगी, शोषण, मानव बेचबिखनमा पर्नसक्ने उच्च जोखिम भएको देखिन्छ ।
सीपको अभाव बिनै जाँदा काममा दक्षता नभएकाले रोजगारदाताले समयमै पारिश्रमीक नदिने, शोषण गर्ने गरेको देखिन्छ । यसले हाम्रो सामाजिक संरचनामा नै असर पारेको छ । श्रम स्वीकृति नलिइ गैरबाटोबाट विदेश जाने महिलाको स्वदेश फिर्ता गराउने अवस्था कठिन बनेको छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij