
आइतवार , श्रावण ४, २०८२
भैरहवा, ४ साउन । निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । २०८२ कात्तिक १७ गतेका हुने उपनिर्वाचनका लागि आयोगले आइतबार (आज) कार्यतालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको प्रारम्भिक सूची सोही दिन साँझ ५ देखि ७ बजेभित्र प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
उम्मेदवारको सूचीमा उजुरी दिन असोज २२ बिहान १० देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । सोही दिनको दिउँसो १५ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन–पत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ११ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
उम्मेदवारी फिर्ताका लागि असोज २४ गते बिहान १० देखि १२ बजेको समय तोकिएको छ । आयोगले सोही दिन दिउँसो १ देखि ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
सोही दिन साँझ ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ । मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रूपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहरा निर्वाचित भएका थिए । उहाँको गत चैतमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij