
बुधवार , श्रावण १, २०८२
भैरहवा, ३२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपकुमार उदयले देवत्करण र दानवीकरणको खेल बन्द गर्न अपील गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा असभ्य भाषाको प्रयोग बन्द गर्न समेत आग्रह गर्नुभएको छ ।
प्रदेश अध्यक्ष उदयले तत्काल बैठक बसी वर्तमान समस्याको समाधान साथै एकताको सन्देश छरेर देशभरका नेता–कार्यकर्ता, राष्ट्रवादी र देशभक्तहरुमा उत्साह प्रदान गर्न पार्टी पंक्तिसँग अनुरोध गर्नुभयो ।
‘हामी जनता, राष्ट्र अनि भविष्यप्रति प्रतिबद्ध हो भने सबैलाई आग्रह गर्न चाहन्छु विचारसँगै नयाँ यात्रा सुरु गरौं । त्यसैमा हामी सबैको भलो छ । एउटा भनाइ छ नि ‘फलेको बृक्ष नझुकेको कहाँ छ र’ ?, उहाँले भन्नुभयो ।
उहाँले ठूला दल भनाउँदाहरुको अकर्मण्यताले आक्रान्त भएर जनताले विकल्प खोजिरहेको बताउनुभयो । ‘यस पृष्ठभूमिमा राप्रपालाई विकल्पको रुपमा स्थापित गर्न एकताको सन्देश दिनुपर्ने थियो । जनता र देशको हितमा कार्ययोजना अघि सार्नुपर्ने थियो । हामीमा कार्यकुशलता र कार्यक्षमताका साथै ईमान र नैतिकता पनि रहेको जनतामा विश्वास दिलाउनुपर्ने थियो । तर, हामीभित्रका असहमति अनि असमझदारीलाई जनता र देशको अगाडि छताछुल्ल पार्ने काम गरिरहेका छौं । यस्तो गतिविधिले जनता हामीसँग कसरी सकारात्मक बन्लान ? यसरी हामी अरु खरा हुँदैमा कसरी विकल्प हुन सक्छौं,’ उहाँले भन्नुभयो ।
उहाँले राप्रपा पुरानो र नयाँ पुस्ताको संगम रहेको भन्दै विगतका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो । अब पनि चेत नपलाउने हो भने पुरानो पुस्ताको योगदान र नयाँ पुस्ताको भविष्य दुवै अन्धकार बन्ने निश्चित रहेको उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij