२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ : गृहमन्त्री

आइतवार , आषाढ २९, २०८२

काठमाडौं, २९ असार । गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीको बाढीबाट मृत्यु भएका ११ जनामध्ये दुई जनाको मात्रै सनाखत भएको बताउनुभएको छ ।

काठमाडौं, २९ असार । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैकठमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँलकाअनुसार बाढीमा २० जना मानिस नेपालबाटै बेपत्ता भएको र अन्य ११ जना चीनको भूमिबाट बेपत्ता भएको र बगेर नेपालमै आएको हुनसक्ने खबर चीन सरकारले दिएको बताउनु भयो । उहाँले उनीहरुको पनि खोजि भइरहेको बताउनु भयो । अहिलेसम्म नेपालबाट बाढीमा परि बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको बताउनु भयो ।

विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि शव नभेटिए मृतक सरह राहत दिने बताउनु भयो । खोज, उद्धार, पुनःनिर्माणमा पनि सरकार तयारी अवस्थामा रहेको बताउनु भयो । पूर्वसूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अहिलेको स्थिति कस्तो छ भने २० जना मानिस हाम्रै सीमाभित्रबाट बेपत्ता भएको स्थिति देखिन्छ । जसमा मित्रराष्ट्र चीनको नागरिकहरु पनि हुनुहुन्छ । ११ जना जति चीनबाटै मिसिङ भएको खबर गर्नुभएको छ । उहाँहरु पनि बगेर यतै ल्याएको आशंका छ । अहिलेसम्म जम्मा ११ जनाको मात्रै लाश भेटिएको छ । सनाखत दुई जनाको मात्रै भएको छ । कहिले कहिँखोज उद्धार गर्दागर्दै पनि बेपत्ता हुन्छ मानिस भेटिँदैन ।

त्यसैले हामीले १० दिनसम्म खोज गर्ने, यदी विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि भेटिएन भने मृतक सरह राहत दिने निर्णय हामीले गरेका छौँ । जीवितै भएपनि केही बिग्रिएन सरकारले सहयोग गर्ने कुरा हो । खोज, उद्धार, पुनःनिर्माणमा पनि हामी तयारी अवस्थामा छौँ । कुनै कमी नगरी काम गर्नेछौँ । पूर्वसूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएका छौँ । अब जोखिम उत्पन्न भइहाल्यो भने प्रतिकार्यको कुरा हो । खोज, उद्धार, राहत, पुनःनिर्माणको चरण हुन्छ ।’

सरकारले पूर्वसूचनाका लागि एसएमएसले नपुगेको निष्कर्ष निकाल्दै टेलिफोनको सर्भिस प्रोभाइडरहरुलाई अब घण्टी नै एकै पटक बजाउने र फोन उठाउने वातावरण बनाउनेबारे सोचिरहेको बताउनु भयो ।