
आइतवार , आषाढ २९, २०८२
काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले केपी शर्मा ओली जिम्मेवारी र भरोसाका प्रधानमन्त्री बन्न नसकेको आरोप लगाउनुभएको छ ।
जनताको आवश्यकता र मुलुकको समृद्धिमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री अनावश्यक होसीमजाक र टिकाटिप्पणी व्यस्त रहेको भन्दै बस्नेतले प्रधानमन्त्री ओली पदका प्रधानमन्त्री भएको तर, जिम्मेवारी र भरोसाको प्रधानमन्त्री बन्न नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘आफ्ना विरोधीलाई पार्टीबाट पत्तासाफ गर्न, जस्तोसुकै भ्रष्ट र अपराधी भए पनि आफ्ना आसेपासेलाई संरक्षण गर्नबाहेक ओली अन्य कुरामा कहिल्यै गम्भीर र संवेदनशील देखिएनन् ।’
बस्नेत भन्नुहुन्छ, ‘राम, शिवलगायतका भगवानहरुको थर, पहिचान र भूगोलबारे अनुमान लगाउँदै हिंड्ने ओली जनताको पहिचानको आन्दोलनप्रति सबैभन्दा बढी अनुदार छन् ।’भ्रष्टाचार, बेथिती, अनेक घोटाला र काण्डैकाण्डको चाङलाई आफैले छोपेर प्रधानमन्त्री आफै मख्ख छन् भन्दै उहाँले टिप्पणी गर्नुभएको छ ।
विवाह र सन्तान जन्माउने उमेरबारे युवालाई सल्लाह र सुझाव दिने ओलीले नेपाली युवाहरु के चाहन्छन् भन्ने कुरा कहिल्यै सुन्न र बुझ्न नचाहेको बस्नेतको दावी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij