२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पामिरद्वारा विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान

सोमवार , आषाढ २३, २०८२

तिलोत्तमा, २३ असार । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा नगरपालिका–२ जानकीनगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । एसईई परीक्षामा ३.९३ जीपीए ल्याउन सफल उषा अधिकारीसहित २५ जना विद्यार्थी, अभिभावक तथा शिक्षकशिक्षिकाहरुलाई एकेडेमीले सोमबार सम्मान गरेको हो ।

विद्यालयले ए प्लस ल्याएका ९ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको थियो भने अन्य विद्यार्थीहरुलाई अबिर, खादा र मायाको चिनोद्वारा सम्मान गरेको थियो । त्यस्तै विद्यालयका नेपाली शिक्षक केशव खनालले आफ्नो विषयमा ए प्लस ल्याउने चारजना विद्यार्थीहरु उषा अधिकारी, इशान ज्ञवाली, इश्मा दर्लामी र आविष्कार नेपालीलाई जनही नगद ५ हजारसहित सम्मान गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा विद्यालयका प्राचार्य गोपाल गौतम, शिक्षकहरु अमित राना, विनोद रणपाल, केशव खनाल, गोपाल ज्ञवाली, सम्झना श्रेष्ठ, अर्जुनप्रसाद पन्तलगायतलाई पनि सम्मान गरिएको थियो । 

विद्यार्थीहरुलाई सम्मान गर्दै तिलोत्तमा वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले सिंगो तिलोत्तमाले शिक्षा क्षेत्रमा महत्वपूर्ण फड्को मारिरहेको र २ नम्बर वडा शैक्षिक प्रगतिको केन्द्र बनिरहेको बताउनुभयो । उहाँले पामिरले ल्याएको नतीजा तिलोत्तमाकै लागि महत्वपूर्ण उपलब्धि रहेको चर्चा गर्दै उत्तीर्ण सबै विद्यार्थीहरुको आगामी शैक्षिक सफलताको लागि शुभकामना दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिंदै पामिरले यस वर्ष अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउनुभयो ।
उहाँले गत वर्षको एसईईमा तिलोत्तमामै प्रथम भएको पामिरले विद्यालयको इतिहासमा भने यस वर्ष अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । पामिरले शिक्षण सिकाईसँगै व्यवहारिक सिकाईलाई पनि जोड दिंदै आएको, प्रविधितर्फ विद्यार्थीलाई केन्द्रित गरेको, अतिरिक्त क्रियाकलापमा जोड दिएको र गुणस्तर सुधारमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको उहाँले बताउनुभयो ।

विद्यालयका प्राचार्य गोपाल गौतमले चार जीपीए मात्रै ठूलो कुरा नभएको भन्दै विद्यालयमा विद्यार्थीले कस्तो ज्ञान र शिक्षा हासिल गर्छन् भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको आगामी शैक्षिक यात्राको शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षा समितिका संयोजक वसन्त जोशी, अभिभावकको तर्फबाट रामबहादुर खड्का, विद्यालयका शिक्षक केशव खनाल, ३.९३ जीपीए ल्याउन सफल विद्यार्थी उषा अधिकारीलगायतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।