२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

पश्चिमाञ्चलद्वारा एसईईमा चार जीपीए ल्याउने दुईसहित ६१ विद्यार्थीलाई सम्मान

सोमवार , आषाढ २३, २०८२

  • 889
    Shares
  • 889
    Shares
  • भैरहवा, २३ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित पश्चिमाञ्चल इङ्लिस स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जीपीए ल्याउने दुईसहित ६१ विद्यार्थीहरुलाई सम्मान गरेको छ । २०८१ सालको एसईईमा पश्चिमाञ्चलबाट सहभागी विद्यार्थीहरुमध्ये अनवर अली मुसलमान र सुमनिमा पोखरेलले चार जीपीए प्राप्त गरेका छन् । त्यस्तै आयुसा पाठकले ३.९६ र निरजरा पोखरेलले ३.९ जीपीए ल्याएका छन् । विद्यालयले शतप्रतिशत नतिजा ल्याएको हो ।

    विद्यालयका अनुसार ३.६ देखि ३.९६ सम्म जीपीए ल्याउने १२ जना, ३.२ देखि ३.५९ सम्म जीपीए प्राप्त गर्ने ३४ जना, ३ देखि ३.१९ जीपीए प्राप्त गर्ने ९ जना र २.८८ देखि २.९९ जीपीए ल्याउने ४ जना विद्यार्थी रहेका छन् । वि.सं. २०५२ सालमा स्थापना भएको पश्चिमाञ्चल इङ्लिस स्कूल भैरहवाको शिक्षा क्षेत्रमा अब्बल विद्यालयको रुपमा चिनिन्छ । 

    विद्यालयले भैरहवामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालले पश्चिमाञ्चल इङ्लिस स्कूलले निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान पनि आवश्यक रहेको बताउनुभयो । ‘अभिभावकले आफ्ना बालबालिका अगाडि झुट बोले बालबालिकाले पनि सिक्छन्, त्यसैले अभिभावकले के बोलिरहेको छु भन्ने कुरामा ध्यान दिन जरुरी छ, ’उहाँले भन्नुभयो । 

    विद्यालयका प्रिन्सिपल राजु प्रसाद ढकालले विद्यालयले उत्कृष्ट नतिजा ल्याउनुमा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका रहने बताउनुभयो । उहाँले विद्यार्थीले महत्वपूर्ण खुड्किलो पार गरेको र आगामी यात्रा पनि सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

    विद्यालयका डेपुटी डाइरेक्टर रेजल ढकालले भोलीका दिनमा पनि लगनशील र अनुशासित विद्यार्थी उत्पादन गर्ने लक्ष्य र संकल्पका साथ पश्चिमाञ्चल इङ्लिस स्कूल अघि बढेको बताउनुभयो ।

    विद्यार्थी निरजरा पोखरेलले एसईईको नतिजाप्रति आफू खुसी रहेको बताउनुभयो । उहाँले पश्चिमाञ्चलको नतिजा उत्कृष्ट रहेको बताउनुभयो । उहाँले देश र समाजको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘यो अन्तिम परीक्षा होइन, जीवनमा धेरै परीक्षा बाँकी नै छन्, ’उहाँले भन्नुभयो ।

    WhatsApp Image 2025-07-07 at 11.12.49 AM.jpeg

    विद्यालयका प्रबन्ध निर्देशक रीता ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सहायक शिक्षा अधिकृत कृष्ण प्रसाद पोखरेल, लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष कमल रायमाझी, विद्यालयका भाइस–प्रिन्सिपल नवराज उपाध्याय, युनिभर्सल पब्लिक हाई स्कूलका भाइस प्रिन्सिपल सुरज घिमिरे, हेभेन्ली गार्डेन किड्स क्याम्पसका प्रिन्सिपल रचना क्षेत्री, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति थियो ।