
आइतवार , आषाढ २२, २०८२
भैरहवा, २२ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
‘युवा समाजसेवी’ ले वडा नम्बर ४ मा बसोबास गर्ने एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको कार्यक्रम संयोजक रोशन बहादुर थापाले बताउनुभयो । शनिबार आयोजित कार्यक्रममा ३६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको र अन्य विद्यार्थीहरुलाई घरमै पुगेर सम्मान गरिने थापाले जानकारी दिनुभयो । विद्यार्थीहरुको हौसला बढाउने उद्देश्यले सम्मान कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि श्री नवदुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवले अहिले सम्मान गरिएका विद्यार्थीहरुलाई प्लस टु उत्तीर्ण गरेपछि आफूले ल्यापटप वितरण गर्ने घोषणा गर्नुभयो । उहाँले स्थानीय सरकारले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
काशी नोबल एकेडेमी, भैरहवाका प्लस टु कोर्डिनेटर हरि प्रसाद आचार्यले काशीले निरन्तर राम्रो नतिजा ल्याउँदै आएको बताउनुभयो । उहाँले काशीले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो।
समाजसेवी सतिशचन्द्र चौधरीले युवा जगत राष्ट्रको कर्णधार भएको बताउनुभयो । उहाँले विद्यार्थीहरुमा अध्ययन गर्ने शक्तिमा थप उर्जा प्रदान होस् भन्दै शुभकामना दिनुभयो ।
फुलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङले कार्यक्रम आयोजना गर्ने टीमलाई धन्यवाद दिनुभयो । समाजसेवी शाहिद खानले देश निर्माणमा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रम संयोजक रोशन थापाको सञ्चालनमा भएको कार्यक्रममा काशी नोबल एकेडेमीका सह–प्राचार्य श्री रायमाझी, समाजसेवी अमीर खान, अभिभावक, विद्यार्थी, स्थानीयबासी लगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीहरुलाई खादा,टीका लगाएर तथा प्रमाणपत्र, डायरी र कलम प्रदान गरी सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij