
शनिवार , आषाढ २१, २०८२
भैरहवा, २१ असार । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा विभिन्न सामग्री वितरण गरिएको छ । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको पहलमा कपडा, चप्पल लगायत गरी ५० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो ।
अस्पताल प्रमुख (मेडिकल सुपरीटेण्डेण्ट) डा. शकुन्तला गुप्ताले ओसीएमसीमा सहयोग गरेर उपप्रमुख उमा अधिकारीले राम्रो सुरुवात गर्नुभएको बताउनुभयो । उहाँले अन्य पालिकालाई पनि सहयोग गर्न आग्रह गर्नुभयो। ‘ओसीएमसीमा पीडित व्यक्तिहरु उपचार गराउन आउने हो । यहाँ सहयोग गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नुभयो ।
नगर उपप्रमुख अधिकारीले सिद्धार्थनगर नगरपालिकामा भीम अस्पताल रहेकोले अस्पतालप्रति स्थानीय सरकारको पनि जिम्मेवारी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा अस्पतालका प्रशासन प्रमुख ईश्वरी ज्ञवाली, व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) लगायतको उपस्थिति थियो ।
ओसिएमसी भनेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र हो । लैंगिक हिंसामा परेका व्यक्ति अस्पताल आएपछि उनीहरूलाई चाहिने सबै सेवा एकद्वार प्रणालीबाट उपलब्ध गराइन्छ । उपचार तथा परामर्शसम्बन्धी अधिकांश सेवा यहाँ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij