२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

न्यू होराइजनद्वारा चार जीपीए ल्याउने ११ सहित तीनसय विद्यार्थीलाई सम्मान

मंगलवार , आषाढ १७, २०८२

बुटवल, १७ असार । रुपन्देहीको बुटवलस्थित न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको छ । सोमबार विद्यालयमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । 

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य उपाध्यायले गुणस्तरीय शिक्षाका लागि विद्यालय सधैँ दत्तचित्त रहेको बताउनुभयो । उहाँले शिक्षक, विद्यार्थी र अभिभावकहरुको मिहिनेतकै कारण संस्थागततर्फ बुटवलमा पहिलो र न्यू होराइजनको इतिहासमै सर्वोकृष्ट नतिजा आएको बताउनुभयो । यहाँ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृतिको समेत व्यवस्था गरिएको उहाँको भनाइ छ ।

विद्यालयका अध्यक्ष कसजुले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगति एवं उज्जवल भविष्यको शुभकामना प्रदान गर्नुभयो । कार्यक्रममा चार जीपिए ल्याएका विद्यार्थी बेदान्त गौतमले न्यू होराइजनमा अध्ययनका लागि उत्कृट शैक्षिक वातावरण रहेको बताउनुभयो । उहाँले आगामी शैक्षिक यात्रा पनि यसै विद्यालयबाटै अघि बढाउने योजना बनाएको बताउनुभयो ।  

त्यस्तै अभिभावक गंगाराम भट्टराई र सुमित्रा शर्मा लागायतले बोल्दै हरेक वर्ष उत्कृट नतिजा र राम्रो शैक्षिक वातावरण भएका कारण बुटवल बाहिरका विद्यार्थी र अभिभावकको रोजाइमा न्यू होराइजन पर्ने गरेको बताउनुभयो । उहाँहरुले एसईईपछिको उच्च शिक्षामा बालबालिकाहरुको रुची र चाहाना अनुसारको विषय छनोट गरी भर्ना गरेमा सफल हुन सकिने बताउँदै उत्कृष्ट नतिजाका लागि विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । 

एसईईमा न्यू होराइजनबाट ११ जना विद्यार्थीले ४ जीपीए, १२५ जना विद्यार्थीले ‘ए प्लस’, ९९ जना विद्यार्थीले ‘ए’, ५९ जना विद्याथीले ‘बी प्लस’ र  ६ जना बिद्यार्थीले ‘बी’ ग्रेड ल्याउन सफल भएको विद्यालयका उपप्राचार्य बासुदेव अर्यालले जानकारी दिनुभयो । 

साथै कक्षा ११–१२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार तथा दक्ष, अनुभवी एवं पूर्णकालीन प्राध्यापकसँगै उत्कृष्ट वातावरण रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, शिक्षक प्रकाश गौतमलगायतले पनि बोल्नुभएको थियो ।