२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

कालिका मानवज्ञानद्वारा एसईईमा जीपीए ४ ल्याउने ७ जनासहित ५८९ विद्यार्थीलाई सम्मान

सोमवार , आषाढ १६, २०८२

बुटवल, १६ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयले हालै मात्रै प्रकाशन भएको एसईई परीक्षामा जीपीए ४ ल्याउने ७ जना विद्यार्थीहरुसहित ५ सय ८९ जना विद्यार्थीलाई सम्मान गरेको छ ।  सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी  ग्रेडेट भएका विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरिएको हो ।

अनिस जिसी, अस्मिना पराजुली, प्रशंसा पराजुली, प्रतिक पौड्याल, स्वरुप न्यौपाने, सुर्दशन न्यौपाने र सुजन बाह्रघरेले जीपीए ४ ल्याएका थिए ।   कालिका मानवज्ञान माविबाट यो वर्ष ७ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । जुन रुपन्देही जिल्लामा सामूदायिक विद्यालय दोस्रो हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार, पूर्वप्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले अभिभावकको संस्कारसहितको शिक्षाका कारण उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले आमाबाबु र शिक्षकले मात्रै विद्यार्थी सर्वश्रेष्ठ रहेको हेर्न चाहना  रहेको  भन्दै अहिले प्राप्त गरेको नतिजालाई जोगाउनु सबैभन्दा महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा बुटवल कालिका क्याम्पसका अध्यक्ष होम बहादुर गलामी, अभिभावक संघका अध्यक्ष केशवराज न्यौपानेसहितका विभिन्न व्यक्तिवहरुले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका  कक्षा १०  इञ्चार्ज दीपक बन्जाडेको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै  विद्यालयका प्रधानाध्यापक दिनेश थापाले  शिक्षकहरुको कडा मिहिनेत विद्यार्थीहरुको अथक प्रयासबाट विद्यालयले उच्च नतिजा प्राप्त गर्न सफल भएको भन्दै सबैलाई बधाई तथा धन्यावाद दिनुभयो ।

उच्च शिक्षाको नयाँ खुड्किलो सुरुवात भएको भन्दै विद्यार्थीहरुलाई आगामी दिनमा आफ्नो भविष्य कस्तो बनाउने भन्ने निर्णय लिने बेला पनि आएको भन्दै  सोही अनुसार आफ्नो इच्छा, आकांक्षा र योजना अनुसारको विषय छनौट गरी अगाडी बढ्न उहाँले सुझाव समेत दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले कालिकाको शिर उचो राख्ने कालिकाका नक्षत्रहरुलाई बधाई दिदै आगामी शैक्षिक यात्राको लागि कालिकामा नै स्वागत गरिएको जानकारी दिनुभयो ।
कालिका मानवज्ञान माविमा यो वर्ष एसईई परीक्षामा सम्मिलित विद्यार्थीहरुमध्ये जीपीए चार ७ जनाले, जीपीए ३.६०–४ सम्म २०८ जनाले, जीपीए ३.२० देखि ३.६० सम्म २ सय ४३ जनाले, जीपीए २.८० देखि ३.२० सम्म १०३ जनाले, जीपीए २.४० देखि २.८० सम्म २५ जनाले र जीपीए २.०० देखि २.४० सम्म ३ जनाले ल्याएका छन् ।

कालिका मानज्ञान माविमा कक्षा ११ मा विज्ञान संकाय, प्राविधिकतर्फ कम्प्युटर इञ्जिनियरिङ्ग, व्यवस्थापन संकायमा कम्प्युटर  विज्ञान, लेखा, वित्तशास्त्रसहित शिक्षा र मानविकी संकायमा भर्ना खुलेको छ ।