२०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

कालिकाका पत्रकारिताका विद्यार्थीहरुलाई प्रदेश सरकारको छात्रवृति

बिहिवार , आषाढ १२, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, १२ असार । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा आम सञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ ।प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आम सञ्चार अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत विद्यालयमा आम सञ्चार तथा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरुमध्ये २६ जनालाई जनही २५ हजार रुपैयाँको दरले छात्रवृति प्रदान गरिएको छ ।

    मन्त्रालयले उपलब्ध गराएको छात्रवृति रकम विद्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको छ । छात्रवृति वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले राज्यको चौथो अंग सञ्चार क्षेत्रलाई मानिने भएकोले यो क्षेत्रमा आवश्यक पर्ने  दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले २०६५ सालदेखि आम सञ्चार र पत्रकारिता विषय पढाइरहेको बताउनुभयो । उहाँले पत्रकारिताका विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिनको लागि विद्यालयमै सुविधासम्पन्न स्टुडियोको निर्माण गरिएको र विभिन्न सञ्चार गृहहरुलाई लगेर व्यवहारिक तालिम दिने गरिएको बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयले विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृतिहरु प्रदान गरेर विद्यार्थीहरुलाई प्रोत्साहित गरिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले समेत विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउँदा विद्यार्थीहरुलाई निर्वाध किसिमले आफ्नो पढाई पूरा गर्न र उच्च शिक्षाको बाटो तय गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    आम सञ्चार तथा पत्रकारिताका विषय प्रमुख शेरबहादुर केसीले प्रदेश सरकारले आम सञ्चार पढ्ने विद्यार्थीलाई छात्रवृति प्रदान गरेकोमा धन्यवाद दिनुभयो । उहाँले यस्ता छात्रवृतिले विद्यार्थीहरुलाई अध्ययन पूरा गर्न मात्र नभएर पत्रकारिताको क्षेत्रमा आवश्यक  दक्ष र जिम्मेवार जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन इन्चार्ज विमल आत्रेयले गर्नुभएको थियो ।