२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा जिल्लास्तरीय कवितालेखन, वाचन र चित्रकला प्रतियोगिता

शनिवार , आषाढ ७, २०८२

भैरहवा, ७ असार । नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा लुम्बिनी बौद्ध विश्वविद्यालयमा कवितालेखन, वाचन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शिक्षाको गुणात्मक विकासमा रचनात्मक क्रियाकलापको महत्वलाई जोड दिदै आयोजना गरिएको कार्यक्रममा रुपन्देही जिल्लाभरीका २३  विद्यालयका ५६ जना विद्यार्थीहरूको सहभागीता थियो ।

प्रतियोगिता अन्तर्गत कवितालेखन तथा वाचनमा सिनियरतर्फ देवदह इङ्लिस बोर्डिङ स्कूलका दिया न्यौपाने प्रथम, सिद्धार्थ बोर्डिङ स्कूलका स्मृति भट्टराई द्वितीय, ग्लोरी बोर्डिङ स्कूलका सिद्धी केशरी तृतीय र बुटवल ग्लोरीका गुराँस गहतराज सान्त्वना भएका छन् ।

त्यस्तै कवितालेखन तथा वाचनमा जुनियरतर्फ स्कलर्स होमका वार्षिका बन्जाडे प्रथम, नमूना एभरग्रीन स्कूलका निकोल चापागाईं द्वितीय, सिद्धार्थ ग्यालेक्सीका शिवानी सापकोटा तृतीय र ब्राइट स्टार बोर्डिङ स्कूलका नसिफा खातुन सान्त्वना भएका छन् ।

त्यसै गरी चित्रकला प्रतियोगितामा जुनियरतर्फ ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कूलका करन मौर्य प्रथत, ग्लोरी बोर्डिङ स्कूलका प्राप्ति श्रेष्ठ द्वितीय, नमूना एभरग्रीन स्कूलका स्मारिका नामजाली र देवदह बोर्डिङ स्कूलका साइमन थापा सान्त्वना भएका छन् ।

चित्रकला प्रतियोगिता सिनियरतर्फ सिद्धार्थ ग्यालेक्सी बोर्डिङ स्कूलका मेगा गुरूङ प्रथम, ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कूलका निशा गुप्ता द्वितीय, देवदह इङ्लिस बोर्डिङ स्कूलका सुदिक्षा श्रेष्ठ र ग्लोरी बोर्डिङका प्राप्ति थापा सान्त्वना भएका छन् ।

कवितालेखन तथा वाचनको निर्णायक मण्डलमा कृष्ण प्रसाद पाण्डे र रमेश भण्डारी तथा चित्रकला प्रतियोगिताको निर्णायक मण्डलमा उज्जल कुमार कायस्थ तथा जितेन चौधरीले रहनुभएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले विद्यार्थीहरूको अन्तरनीहित प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगिताहरू अपरिहार्य रहेको बताउनुभयो । उहाँले नेशनल प्याब्सनको यसप्रकारको पहलकदमीको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

त्यस्तै नेशनल प्याब्सनका केन्दीय उपमहासचिव विष्णु प्रसाद पौडेलले विद्यार्थीहरूलाई सिर्जनशीलता सबैभन्दा महत्वपूर्ण कुरा भएकोले आफूहरूलाई सिर्जनशिल बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै निर्णायक मण्डल, विद्यालयहरू, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विद्यार्थीहरूको सर्वांगीण विकासका लागि नेशनल प्याब्सन सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।

नेशनल प्याब्सन रूपन्देहीका कोषाध्यक्ष कमल पौडेलको सञ्चालनमा भएको कार्यक्रममा रामअवतार यादवले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विलप्रसाद गुरुङ, प्रमिला पछाई, शंकर गौतम, एल.बी. रौतार, अरविन्द हरिजन, कमलेश यादव लगायतका उपस्थिति थियो । प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।