२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

दर्ताबिनै सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बुधवार , जेठ २९, २०८२

भैरहवा, २८ जेठ । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताबिनै सञ्चालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले बताउनुभयो ।

अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले जानकारी दिनुभयो । ‘दर्ताबिनै गैरकानूनी रुपमा स्वास्थ्य संस्था संचालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उहाँले भन्नभुयो, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानूनी रुपमा सञ्चालित रहेको पाइएको छ । कतिपय क्लिनिकले बिरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौं ।’

रानाले दर्ता गरी मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन समेत दिइएको जानकारी दिनुभयो । अनुगमन समितिले बन्द गरेका अधिकांश क्लिनिक फार्मेसीसँगै सञ्चालित थिए । फार्मेसी सञ्चालनको अनुमति लिए पनि क्लिनिक सञ्चालनको अनुमति नलिएको पाइएपछि बन्द गरिएको हो ।

बन्द गरिएका क्लिनिकहरुमा सिद्धार्थनगरमा सञ्चालित शिवम् क्लिनिक प्रा.लि., महादेजस फार्मेसीमा सञ्चालित क्लिनिक, होमटाउन फार्मेसीमा सञ्चालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा सञ्चालित क्लिनिक र नेपाल चश्मा पसलमा संचालित क्लिनिक छन् । 

त्यस्तै, जिविका मेडिकल प्रा.लि.मा सञ्चालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक छन् । यस्तै, लुम्बिनी प्थालोजी र न्यू ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ । बन्द गरिएका क्लिनिक र ल्याबहरु सिद्धार्थनगर १२, १३ र वडा ७ का हुन् । यीमध्ये दर्ता नभएका र मापदण्ड नपुगेका अधिकांश भैरहवास्थित जिल्ला अस्पताल भीम अस्पताल आसपासका छन् ।

अनुगमनका क्रममा यी स्वास्थ्य संस्थामामध्ये केहीले स्वास्थ्य कार्यालय, रुपन्देही र केहीले सिद्धार्थनगर नगरपालिकाबाट अनुमति नै नलिइ सञ्चालनमा रहेको पाइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताउनुभयो । यी संस्थालाई तत्काल दर्ता प्रक्रियामा जान निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

सञ्चालन अनुमति नलिँदासम्म यी क्लिनिक र ल्याब सञ्चालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमनमा सिद्धार्थनगर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी, सिद्धार्थ उद्योग वाणिज्य संघ, भीम अस्पतालका चिकित्सक, उपभोक्ता हित संरक्षण मंच, औषधि व्यवसायी संघ लगायतका प्रमुख तथा प्रतिनिधिको सहभागीता थियो ।

pic (3).jpg

अनुगमन समितिले यही आइतबार मात्रै दर्ताबिनै सञ्चालित बुटवलका ६ वटा क्लिनिक समेत बन्द गरेको थियो । पाइलैपिच्छे क्लिनिक खोल्ने तर, दर्ता र मापदण्ड पूरा नगरी सञ्चालन गर्ने परिपाटी बढीरहेको छ । नियमित र उजुरीका आधारमा अनुगमन गरी त्यस्ता संस्थाहरुलाई कानूनी दायरामा ल्याइने रानाले बताउनुभयो ।