२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

नेशनल प्याब्सनद्वारा गणित विषयका शिक्षकहरुलाई तालिम

शनिवार , जेठ १८, २०८२

  • 826
    Shares
  • 826
    Shares
  • बुटवल, १७ जेठ । निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आफू मातहतका विद्यालयमा गणित विषय अध्यापन गराउने शिक्षकहरुका लागि एकदिने तालिम (कार्यशाला) गरेको छ । नेशनल प्याब्सनले रुपन्देहीका संस्थागत विद्यालयहरुको कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन गराउने गणित विषयका शिक्षकहरुलाई एकदिने कार्यशाला गरेको हो । 

    कार्यशालाको उद्घाटन गर्दै नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले सूचना र प्रविधिको विकाससँगै शिक्षकहरु पनि अपडेट हुनुपर्ने उल्लेख गर्दै एआईको दुनियामा आफूलाई अपग्रेट नगर्ने शिक्षकले विद्यार्थीलाई सही शिक्षा दिन नसक्ने बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई प्रशिक्षार्थी शिक्षकहरुले अक्षरस पालना गर्नुपर्ने बताउँदै सिक्ने कुरालाई निरन्तर अगाडि बढाउन र आफूलाई समयानुकुल बनाउन शिक्षकहरुलाई सुझाव दिनुभयो । 

    नेशनल प्याब्सन रुपन्देहीका कार्यबाहक अध्यक्ष राजेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हरिलाल अर्यालले शिक्षाको विकासमा सरकारी र गैरसरकारी निकायले आ–आफ्नो स्थानबाट गुणस्तरीय र समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले ठुलो शैक्षिक जनशक्ति उत्पादनका लागि निजी क्षेत्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको र डिजिटल युगमा अध्यापनको शैली पनि सोही अनुसार लैजाने क्षमता बढाउनेतर्फ शिक्षकलाई ध्यान दिन सुझाव दिनुभयो । 

    वेदान्त पब्लिकेशनको सहकार्यमा भएको गणित विषयक अध्यापन शैली कार्यशाला गोष्ठीमा रुपन्देहीका विभिन्न विद्यालयका चार दर्जन बढी गणित विषय अध्यापन गराउने शिक्षकहरुको सहभागीता रहेको नेशनल प्याब्सनका सचिव विनोद थापा मगरले जानकारी दिनुभयो । नेशनल प्याब्सनले यसअघि नेपाली विषयक शिक्षकहरुका लागि तालिम दिइएको र नेशनल प्याब्सनले नियमित रुपमा अन्य विषयगत शिक्षकहरुका लागि पनि तालिम दिदै जाने सचिव थापाले बताउनुभयो । 

    नेशनल प्याब्सनका सदस्य सौगात भट्टराईको स्वागत तथा वरिष्ठ लेखक तथा प्रशिक्षक हुकुम प्रसाद दाहालले गणित विषय अध्यापन शैलीका विषयमा सहजीकरण गर्नु भएको कार्यक्रममा सुनगाभा पब्लिक स्कुलका शिक्षक लक्ष्मण खनाल, न्यू लुम्बिनी बोर्डिङ स्कुलका शिक्षक लक्ष्मी रेश्मी मगर रानाले  भनाइ राख्नुभएको थियो ।