२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

यातायातकर्मीहरुसँग अभिमुखीकरण

सोमवार , जेठ १३, २०८२

  • 952
    Shares
  • 952
    Shares
  • भैरहवा, १२ जेठ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विषयक अभिमुखीकरण कार्यक्रम आइतबार भैरहवामा सम्पन्न भएको छ । माइती नेपाल भैरहवाको आयोजनामा यातायातकर्मीहरुसँग अभिमुखीकरण भएको हो । यस क्षेत्रमा रहेका बस चालक, सह–चालक, अटो तथा रिक्सा चालकहरुसँग मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले उनीहरुलाई चेतनामुलक प्रस्तुतीकरण गरिएको थियो। 

    हरेक ठाउँमा लैजाने जाने काम यातायातबाटै हुने भएकाले चालक तथा सहचालक चनाखो भइ आफू पनि जोगिनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा १८ वर्ष मुनिका बालबालिका कसले कहाँ पठाउँदै छ, अभिभावक बिना कता र किन जाँदै छन् भन्ने कुरामा हेक्का राख्न यातायातकर्मी चनाखो हुनुपर्ने बताइएको थियो । 

    सहभागीहरुलाई माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले मानव बेचबिखनमा  कानूनी व्यवस्था, सवारीचालकले जान्नै र बुझ्नुपर्ने कुराहरु प्रष्ट पार्नुभएको थियो । उहाँले अशिक्षित, गरीब, घरेलु हिंसामा परेका, एकल महिला, बेसहारा, रोजगारीको खोजीमा भौतारिरहेका महिला तथा युवती बेचबिखनको जोखिमा पर्ने व्यक्ति भएको बताउनुभयो । 

    यौन व्यवसाय, घरेलु कामदार र श्रम शोषण, कृषि, कलकारखाना, उत्तेजनक नाच, होटल रेष्टुरेष्ट, मसाज, पार्लर, सर्कस, माग्ने बनाउन, मानव अंग खरिदविक्रीका लागि  बेचबिखन ओसारपसार गरिने गरेको पाइएको क्षेत्रीले बताउनुभयो । खास गरी प्रमुख गन्तव्यका रुपमा भारतको मुम्बई, दिल्ली, कोलकोता, पुना, शिलगुढी जस्ता ठाउँहरु बेचबिखनका मुख्य गन्तव्य हुने गरेकोमा नयाँ गन्तव्यका रुपमा खाडी देशहरु कुबेत, साउदी, अरब, बंगलादेश, चीन, दुबई, इराक पर्ने गरेका छन । 

    मानव बेचबिखन तथा ओसारपसरमा संलग्न व्यक्तिलाई नेपालको कानूनमा १ महिना देखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै गरी ५० हजारदेखि ५ लाखसम्म जरिवानाको पनि व्यवस्था रहेको उहाँले बताउनुभयो ।  नियन्त्रणका लागि थुप्रै चुनौती रहेको पनि उहाँले बताउनु भयो । दुई दशक अघिदेखि यसै क्षेत्रमा काम गरिरहनुभएकी संयोजक क्षेत्रीले सूचना प्राप्त गर्न गाह्रो हुनु, साक्षी गवाह र सबुद प्रमाणहरु संकलन गर्न ज्यादै कठिन हुनु, स्थानीयस्तरमा प्रतिकार र दबाब समूहको सक्रियताको अभाव भएको उहाँले स्पष्ट पार्नुभयो । समन्वयको अभाव, दक्ष जनशक्तिको अभाव, लैगिक विभेद, घरेलु हिंसा, धार्मिक तथा सामाजिक कुरीतिहरु चुनौती रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा यातायातकर्मीहरुले आ–आफ्नो अनुभव सुनाएका थिए ।