
शुक्रवार , बैशाख १९, २०८२
भैरहवा, १९ वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताएका छन् । उनले मुलुकमा निरकुंशता हटेर संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि शासक पुरानै रहेको बताए ।
जसपा नेपाल रुपन्देही एकताको प्रथम जिल्ला अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै अध्यक्ष यादवले नयाँ व्यवस्थामा पुरानै शासक भएकाले कसरी अवस्था बदलिन्छ भन्दै प्रश्न गरे । ‘हिजोको शासक आज पनि शासक छन्’उनले भने–‘व्यवस्था बदलेर मात्र हुँदैन, शासन–सत्ता पनि बदल्नुपर्छ ।’
पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । उनले दलित समुदाय र महिलाको नाम मात्रको प्रतिनिधित्व भएको बताए । ‘दलित र महिलाको सत्ता र शक्तिमा निर्णायक भूमिका छैन, अध्यक्ष यादवले भने–‘अहिलेको संविधान शोषित–उत्पीडित जनताको विपक्षमा छ ।’
मधेशमा राज्यको न्यून बजेट भएको भन्दै उनले विकास दक्षिणबाट सुरु गरी उत्तर पुग्नुपर्नेमा जोड दिए । ‘शासक वर्ग जसले सयौं वर्षदेखि शोषण, भेदभाव र उपेक्षा गर्दै आएका छन्, चुनावमा उनीहरुलाई भोट दिएर सत्तामा पुर्याइरहेका छौं’उनले भने–आफ्नो मत आफ्ना अधिकारका लागि प्रयोग गरौं । अब चुनावमा गल्ती नगर्नेतर्फ सचेत हुनुपर्छ र आफ्ना हकका लागि लड्नुपर्छ ।’
त्यस्तै पार्टीका महासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्माले प्रदेश सरकारलाई कमजोर बनाइएको बताए । उनले वर्तमान सरकार संघीयताप्रति इमान्दार नभएको बताए । उनले संविधान संशोधन र पुर्नलेखन नभए आन्दोलनको तयारी गर्नुपर्ने बताए ।
कार्यक्रममा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, जसपा नेपालका केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, पार्टीका वरिष्ठ नेता कैलाश गुरुङ, लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, प्रदेश सदस्य गोविन्द यादव, पश्चिम नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादव, नेकपा (एमाले) रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, नेपाली काँग्रेस जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, लोसपा जिल्ला अध्यक्ष रवि कुमार रौनियार, जनमत पार्टीका जिल्ला अध्यक्ष रामकेश गुप्ता, राष्ट्रिय मुक्ति क्रान्तिका जिल्ला अध्यक्ष मुकेश यादव, जसपा जिल्ला इञ्चार्ज मोहम्मद अली, नेकपाका जिल्ला अध्यक्ष विरेन्द्र सी, उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, समाजवादी विद्यार्थी युनियन नेपालका वरिष्ठ उपाध्यक्ष राहुल यादव, मैथिल समाज रुपन्देहीका अध्यक्ष अमरकान्त झा लगायतले बोलेका थिए।
जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, उपाध्यक्ष कलामुद्दीन खाँको स्वागत तथा सचिव विष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij