२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

देशको मुख्य मुद्दा सुशासन र रोजगारी हुनुपर्नेमा जोड

आइतवार , बैशाख १४, २०८२

बुटवल, १४ वैशाख । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले जिल्लाभित्रका विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग वर्तमान समस्या र सधानका उपाय बिषयमा सुझाव संकलन गर्ने उद्देश्यले आइतबार बुटवलमा अन्तरसंवाद गरेको छ ।

‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने राष्ट्रिय नारासहित केन्द्रीय कार्यक्रम अनुसार दैशैभर सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवालाहरुसँग वस्तुगत अवस्थाको जानकारीसहित सुझाव संकलन गर्ने गरी रुपन्देही जिल्ला कमिटीले कार्यक्रम गरेको हो । अन्तरसंवाद कार्यक्रममा देशको मुख्य मुद्दा सुशासन र रोजगारी नै हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मुलुक मुद्दाको आधारमा अगाडि नबढ्दा आज युवाहरु विदेशिने क्रम बढेकाले अब यसको अन्त्यका लागि पनि सुशासन र रोजगारी प्राथमिकतामा हुनुपर्ने बताए । उनले आफूहरुले महाधिवेशनबाट नेपाली विशेषताको समाजवादी कार्यक्रम पारित गरेको बताउँदै वर्तमान समस्याका बारेमा सरकारलाई झकझक्याउने उद्देश्यले सरोकारवालाहरुसँग सुझाव संकलन गर्ने गरी अन्तरसंवाद गरिएको बताए । उनले अब मेहनत नगरी सजिलै कमाउने बिचौलिया मोडेल हावी भएकाले त्यसको अन्त्यका लागि श्रममा आधारित उत्पादनको मोडेल बनाउनुपर्ने बताए ।

कार्यक्रममा बाम बुद्धिजीवि एवं लेखक ऋषि आजादले वर्तमान समयमा राजनीति पञ्चर भएको बताउँदै नेतृत्वको कार्यशैली परिवर्तन गरेर सुशासन र रोजगारी सृजना गर्ने मोडेलमा जानुपर्ने बताए । उनले नेताहरुमा देखिएको विलासिता र राजसीशैली परिवर्तन गरेर भुईँमान्छेसरहको व्यवहार बनाउन समेत दबाब दिनुपर्ने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सरकारी र निजी क्षेत्रबीच सौतनी व्यवहार हुने गरेकाले त्यसलाई सुधार गर्दै दिगो पूर्वाधार विकासमा ध्यान दिनुपर्ने सुझाव दिए । उनले मुलुकमा देखिएका समस्या समाधानका लागि सबै क्षेत्रमा प्रतिबद्धताको खाँचो रहेको औल्याए ।

सहकारी अभियन्ता तथा बैंक सञ्चालक भिम तुलाचनले अहिले नेपालमा जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सरकारले प्रोत्साहन नगरेको गुनासो गरे । उनले तीन तहको सरकार बनेसँगै सहकारी क्षेत्रमा प्रभावकारी नियमन नहुँदा समस्याहरु देखा परेको बताए । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद पाठकले सरकारले संविधानको धारा ४४ मा राखेको नागरिकको मौलिक हकलाई कार्यान्वयन गर्न नसकेको बताए ।

त्यसै गरी कार्यक्रममा स्वास्थ्य क्षेत्रका जानकार कमल भण्डारीले नेपालमा संघीयताले सहज रुपमा सेवा दिनुपर्नेमा कतिपय अवस्थामा तीन तहको छुटाछुट्टै कानूनको उल्झनमा व्यवसायिक क्षेत्रहरु पर्ने गरेको गुनासो गरे । ढुवानी व्यवसायी संघका अध्यक्ष जितबहादुर भाटले सरकारले ढुवानीमा समेत भ्याट लगाउँदा साना व्यवसायी मारमा परेको बताउँदै यसबारे पहल गर्न आग्रह गरे । 

त्यसै गरी कार्यक्रममा एमनेष्टि इन्टरनेश्नल अलर्टका लालहरी पाण्डे, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम, बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्मा, सामुदायिक वनका तर्फबाट खिमनारायण अधिकारी, भूमि आयोग रुपन्देहीका पूर्व सदस्य यामलाल तिवारी, समाजवादी प्रेस संगठन नेपाल रुपन्देही अध्यक्ष विनोद परियार लगायतले बोल्दै रुपन्देहीका बन्द भएको बुटवल धागो कारखाना, जीर्ण उद्योग सञ्चालन, भूमिहिन सुकुम्बासी समस्या समाधान, सुनचाँदी व्यवसायीले सुनको आपूर्तिमा भोगेको समस्या समाधान गर्न, सञ्चार क्षेत्रलाई सबल बनाउन तथा अन्र्तराष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि दवाव दिन सुझाव दिए ।

कार्यक्रम जिल्ला अध्यक्ष हिराध्वज शाहको अध्यक्षता, उपाध्यक्ष अविराम विश्वकर्माको स्वागत तथा सचिव टंक पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । प्राप्त सुझावहरुका आधारमा वैशाख १७ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष शाहले जानकारी दिए ।