२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल बैंकबीच उपचार सम्झौता

बुधवार , बैशाख १०, २०८२

बुटवल, १० वैशाख । बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल बैंक लि.बीत उपचार सम्झौता भएको छ । बुटवल हस्पिटलले उपचारका लागि ग्लोबल बंैकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसै गरी बैंकले पनि अस्पतालले गर्ने विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । 

उपचार सम्झौतासँगै दुई संस्थाबीच व्यवसायिक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिककै भएकोले यसको संरक्षण र प्रवर्द्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए । उनले सबै खालको उपचार, उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन अपील समेत गरे ।

सो अवसरमा ग्लोबल बैंक लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बैंक र हस्पिटलका बीचमा भएको उपचार सम्झौतापछि दुवै पक्षलाई आगामी दिनमा थप सहकार्यको बाटो खोलेको बताए । उनले बुटवल हस्पिटल यस क्षेत्रमै नमूना अस्पताल भएकोले अबका दिनमा बैंकर्सहरु पनि उपचारका लागि बुटवल हस्पिटल नै रोज्ने विश्वास व्यक्त गरे ।

दुई संस्थाबीच भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटलका मेडिकल निर्देशक डा. कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, ग्लोबल बैंककातर्फबाट प्रदेश प्रमुख सिवाकोटी, जगलाल भुषाल लगायतले धारणा राखेका थिए ।

२५ वर्षअघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल अहिले १ सय शैयामा सञ्चालनमा छ । जहाँ विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसीयू, एनआईसीयू, एचडीयूसहितका उपचार कक्षहरु सञ्चालनमा छन् भने एक पटकमा ४ वटा शल्यक्रिया (अप्रेशन) गर्न मिल्ने गरी ओटी संरचना छ ।

बुटवल हस्पिटलमा चिकित्सक, नर्ससहित ३ सय कर्मचारीहरु कार्यरत रहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरुसहितको सहभागीतामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ ।  

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २२१ शाखारहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।