२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

बेथरीमा सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको शिलान्यास

बुधवार , बैशाख १०, २०८२

भैरहवा, १० वैशाख । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ स्थित बेथरीमा क्यान्सर अस्पतालको शिलान्यास गरिएको छ । बुधबार सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका हुन् । 

सो अवसरमा मुख्यमन्त्री आचार्यले क्यान्सर जस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताए । उनले सरकारको एकल प्रयासले मात्र सबैको पहुँचमा उपचार सेवा पुर्याउन कठिन हुने भएकाले निजी क्षेत्रबाट भइरहेका प्रयासहरूलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे ।

अस्पतालका संस्थापक अर्जुन पौडेलका अनुसार क्यान्सर रोगको उपचार तथा गुणस्तरीय र सस्तोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ अस्पताल निर्माण थालिएको हो । २ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो अस्पताल १ सय शय्याको हुने पौडेलले जानकारी दिए । डेढ वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो ।

विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर सर्भाइभर तथा अन्य व्यवसायीहरूको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो । 

यो अस्पतालले पश्चिम नेपालसँगै छिमेकी मुलुकका बिरामीलाई उपचारमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ । उपचारसँगै क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने उनको भनाइ छ । साथै २०८२ साल असारदेखि मेडिकल आँन्कोलोजिष्ट राखेर केमोथेरापीसहित क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार सिद्धार्थनगर सिटी हस्पिटल भैरहवामा गरिने पौडेलले जानकारी दिए ।