२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना छैन : एमाले

सोमवार , बैशाख १, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, १ वैशाख । नेकपा एमालेले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको प्रष्ट पारेको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले नयाँ वर्षसँगै सरकार फेरिने प्रचण्डको अभिव्यक्ति खारेज गर्दै अहिले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको प्रष्ट पारेको हो । 

    बैठकले सरकार परिवर्तनसम्बन्धी प्रचण्डको अभिव्यक्ति सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध मात्रै भएको निष्कर्ष निकालेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । अहिले सरकार परिवर्तनको सम्भावना र सान्दर्भिकता नरहेको उनले बताए । सरकार परिवर्तनको कुरा मात्र गर्नु भनेको सत्ता मोहबाहेक केही नभएको उनले बताए ।

    त्यस्तै एमाले बैठकले नयाँ वर्षका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिले अहिलेका उपलब्धीलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता देखिएको भन्दै आपत्ति प्रकट गरेको छ । आपराधिक घटनालाई जनतामा आएको जागरण भन्दै पूर्वराजा शाहले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले यसखालका कुनै पनि क्रियाकलाप नगर्न पूर्वराजालाई सचेत गराएको ज्ञवालीले बताए । उनले चैत १५ गते काठमाडौमा भएको घटनामा पूर्वराजा शाह नै जवाफदेही हुनुपर्ने बताए । ज्ञवालीले उक्त घटनाको अनुसन्धान गदै जाँदा प्रमाणका आधारमा दोषी देखिएकालाई कारवाही हुनुपर्ने जिकिर गरे । 

    त्यस्तै सचिवालय बैठकले वैशाख ९ गते पार्टी स्थापनाको ७६ औँ वर्षगाँठका अवसरमा कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुहुने विशिष्ट योद्धाहरूलाई सम्मान गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

    उनले पार्टी स्थापनाका अवसरमा लालबहादुर विश्वकर्मा, रत्न शर्मा न्यौपाने (मरणोपरान्त), शोभाराम बस्नेत, वाचस्पति देवकोटा, शान्ता मानवी, सत्य नारायण मण्डल र हरिचरण सिवाकोटीलाई सम्मान गरिने बताए ।