२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

पञ्चकन्यामा क्यान्सर रोगको निःशुल्क स्क्रिनिङ हुँदै

सोमवार , चैत्र २४, २०८१

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा, २५ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा रहेको पञ्चकन्या समूहले क्यान्सर रोगको निःशुल्क स्क्रिनिङ गर्न लागेको छ ।  सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि लुम्बिनीरोड र सुमित्रा मेमोरियल क्यान्सर हस्पिटल मायादेवी–५ बेथरीको सह–आयोजनामा यही चैत २७ गते क्यान्सर रोगको निःशुल्क स्क्रिनिङ गर्न लागिएको हो । 

    भक्तपुर क्यान्सर अस्पतालको सहकार्यमा हुन लागेको कार्यक्रममा निःशुल्क प्याप स्मेयर परिक्षण, स्तन क्यान्सर स्क्रिनिङ सेवन तथा अन्य क्यान्सर सम्बन्धी जाँच पञ्चकन्या समूहको उद्योगमा गरिने पञ्चकन्या समूहका महाप्रबन्धक देवन्द्र साहुले जानकारी दिए । 

    महाप्रबन्धक साहुका अनुसार विवाहित महिला तथा ३० वर्ष माथिका अविवाहित महिलाले जाँच गर्न सक्नेछन् । महिनाबारी बन्द भएपछि पनि बेलाबेलामा रगत देखिने, तल्लो पेट दुखिरहने, सेतोपानी बग्ने, अनियमित महिनावारी हुने लगायतका समस्या भएका महिलाहरुले निःशुल्क रुपमा जाँच गराउन सक्ने बताइएको छ । 

    शिविरमा जाँच गर्नका लागि अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसेसहित विशेषज्ञ डाक्टर, कन्सल्टेण्ट, नर्सिङ सुपरभाईजर, मेडिकल अफिसरसहित १९ जनाको टोली आउन लागेको महाप्रबन्धक साहुले जानकारी दिए । उनले शिविरमा मौकाको फाइदा उठाउन आग्रह गरेका छन् ।