२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

आजदेखि भैरहवामा समाजवादी विद्यार्थी युनियनको महाधिवेशन

शनिवार , चैत्र २२, २०८१

  • 964
    Shares
  • 964
    Shares
  • भैरहवा, २३ चैत । जनता समाजवादी पार्टी (जसपा), नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन शनिबार (आज) देखि रुपन्देहीको भैरहवामा हुँदैछ । चैत २३ र २४ (आज) र भोली) हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको महाधिवेशन आयोजक समितिले जनाएको छ ।

    समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष तथा महाधिवेशन आयोजक समिति संयोजक रमेश यादवले जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा महाधिवेशन हुने बताए । उनका अनुसार महाधिवेशनमा देशभरीबाट ७ सय प्रतिनिधि र १ सय जना प्रयवेक्षक, सयौं स्वयंसेवकको उपस्थिति हुनेछ । 

    आज दिउँसो १ बजे भैरहवास्थित पटवा बैंक्वेटमा हुने महाधिवेशनको उद्घाटन सत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव, महासचिव एवं पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत, महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्मा लगायतका नेताहरुको उपस्थिति रहने संयोजक यादवले जानकारी दिए ।

    ‘उद्घाटन सत्रमा हजारौंको उपस्थिति रहनेछ, ’उनले भने । मुलुकमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने उनले बताए । नेपालको शिक्षा प्रणालीलाई मौलिकता, संघीयता र रैथाने सामाजिक परिवेशसँग जोड्न संघीय समाजवादी शिक्षा प्रणालीलाई शैक्षिक मुद्दाको रुपमा र सामाजिक न्याय, समानता, पहिचानमा आधारित राज्य संरचना र गणतन्त्र एवं धर्मनिरपेक्षताको विषयहरुलाई राजनीतिक मुद्दाको रुपमा अगाडि सारेको महाधिवेशन आयोजक समितिका सह–संयोजक एवं विद्यार्थी युनियनका उपाध्यक्ष संजय राईले बताए । गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर (भैरहवा) मा राष्ट्रिय महाधिवेशन आयोजना गर्न पाउँदा खुसी लागेको राईले बताए ।

    जसपा नेपालका केन्द्रीय सदस्य एवं पार्टीको युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विन्देश्वर यादव (बिक्की) ले राजनीति भन्दा बाहिर समाज जान नसक्ने भएकाले विद्यार्थी राजनीतिको महत्व बढ्दै गएको बताए । 

    ‘शिक्षा, स्वास्थ्य र रोजगार विद्यार्थीको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो आधार’ भन्ने मूल नाराका साथ प्रथम महाधिवेशन हुन गइरहेको समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादवले बताए ।