२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

भैरहवामा श्रद्धाञ्जलीपश्चात् काठमाडौं लगियो सांसद् बोहराको शव

मंगलवार , चैत्र १८, २०८१

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १९ चैत । रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको पार्थिव शरीरलाई उनको गृहनगर भैरहवाबाट पुनः काठमाडौं लगिएको छ । मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा बोहराको निधन भएपछि श्रद्धाञ्जली अर्पणका लागि उनको पार्थिव शरीर रुपन्देहीको भैरहवा ल्याइएको थियो ।

    हेलिकोप्टरमार्फत भैरहवा ल्याइएका बोहराको पार्थीव शरीर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गल्लामण्डी, मिलनचोक, नारायणस्थान, बुद्धचोक, नयाँसडक, देवकोटाचोक, बैंकरोड, मैत्रीपथलगायतका स्थानमा परिक्रमा गराई सिद्धार्थनगर नगरपालिका–३ खजहनास्थित उनको निवासमा श्रद्धाञ्जलीका अर्पण गरिएको थियो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता बोहरालाई श्रद्धाञ्जली दिन राप्रपाका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रदेश र जिल्लास्तरका नेताहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू उनको निवास पुगेका थिए । 

    श्रद्धाञ्जली अर्पणपछि भैरहवाबाट सांसद् बोहराको पार्थीव शरीर हेलिकप्टरमार्फत काठमाडौं साँझ ६ः३० बजे लगिएको राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए । बुधबार दिउँसो काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपश्चात पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।