२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

लुम्बिनी विकास कोषको विद्युतीय गाडीको नम्बर प्लेट हरियो बनाउन अदालतको परमादेश

मंगलवार , चैत्र ११, २०८१

  • 847
    Shares
  • 847
    Shares
  • बुटवल, १२ चैत ।उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोषमा आएका विद्युतीय गाडीलाई सेतोबाट हरियो नम्बर प्लेट बनाउन लुम्बिनी प्रदेश सरकार यातायात व्यवस्था मन्त्रालयलाई परमादेश जारी गरेको छ । 

    एसियाली विकास बैंक (एडीबी) ले ग्रिन ईनर्जी फण्डबाट प्रदान गरेका ५ बस र १४ वटा भ्यान गरी १९ विद्युतीय गाडीलाई सेतो नम्बर प्लेटबाट पर्यटक सवारी बोक्ने हरियो नम्बरप्लेटमा एक महिनाको समय तोकेर परिवर्तन गर्न यातायात व्यवस्था मन्त्रालयलाई अदालतले परमादेश जारी गरेको हो ।

    न्यायाधिशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको इजलासले सोमबार लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदले निर्णय गरिसकेकाले सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेट बनाइ पर्यटक सेवाका लागि सञ्चालन गर्न परमादेश जारी गरेको हो ।

    मधेश मानव अधिकार गृह (माहुरी होम) का तर्फबाट राम विकास चौधरीले रिट दायर गरेका थिए । निवेदककोतर्फबाट अधिवक्ताहरू रेशम अधिकारी र बाबुराम भुसाल तथा विपक्षीका तर्फबाट महान्यायधिवक्ता यमलाल खनाल, वरिष्ठ अधिवक्ता लिलाधर मरासिनीले बहस गरेका हुन् ।

    उत्प्रेषण रिट खारेज गरेपनि अदालतले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहमति, लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको निर्णय र सार्वजनिक लेखा समितिबाट २०८१ जेठ ६ मा प्रदेश सरकारलाई निर्देशन भएको थियो । तर, यति हुँदा पनि यातायात व्यवस्था कार्यलय बुटवलले नम्बर प्लेट परिवर्तन नगरेपछि २ वर्षदेखि बस सञ्चालनमा आउन सकेको थिएन ।

    ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ को भाग १ को खण्ड ख बमोजिम हरियो प्लेटमा परिवर्तन गर्न सकिने कानूनी मार्ग उपलब्ध रहिरहेको हुँदा सोही मार्ग अवलम्बन गरी एक महिनाभित्र उक्त सवारीहरूलाई हरियो प्लेटमा परिवर्तन गरी सञ्चालनमा ल्याउन परमादेश जारी हुने ठहर्छ’ परमादेशमा भनिएको छ ।  

    उक्त विद्युतीय बस सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्वमा सञ्चालन गठन गरेको कार्यदलले २०७९ सालमै प्रतिवेदन र कार्यविधिको मस्यौदा तयार पारिसकेको थियो । नम्बर प्लेटको समस्या समाधान नभएकोले कार्यविधि लागू हुन सकेको थिएन । यो परमादेशसँगै अब कोषलाई नम्बर परिवर्तन गरी सञ्चालनका लागि बाटो खुलेको छ ।

    कोषले केही समय यता दानपत्र राखेर दुईवटा बस सञ्चालनमा ल्याएको छ । यो परमादेशले विद्युतीय बस तथा भ्यान बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकहरुको सेवामा सञ्चालनका लागि बाटो खोलिदिएको छ ।