२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

‘लोकतन्त्र कमजोर बनाउन खोज्ने शक्तिलाई एमालेले परास्त गर्छ’

मंगलवार , चैत्र ११, २०८१

भैरहवा, १२ चैत । नेकपा (एमाले) का नेताहरुले लोकतन्त्रलाई कमजोर बनाउन खोज्ने शक्तिलाई एमालेले परास्त गर्ने दावी गरेका छन् । उनीहरुले एमालेलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

एमाले सिद्धार्थनगर ७, ८ ९ र १२ वडा कमिटीले सोमबार भैरहवाको बुद्धचोकमा आयोजना गरेको जनजागरण कार्यक्रममा नेताहरुले केही शक्तिले धर्म, अस्थिरताको नाममा प्रचार गरेर जनतालाई भ्रमित गराउने प्रयास गरे पनि त्यो प्रयास एमालेले सफल हुन नदिने दावी गरे ।

कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई के का लागि साथ चाहियो भन्नेबारे प्रष्ट पार्नुपर्ने बताए । उनले जनताले रगत र पसिनासँग साटेर ल्याएको  व्यवस्थाविरुद्धको हर्कत स्वीकार्य नहुने बताए । 

‘पूर्वराजा ज्ञानेन्द्र शाहको मनमा अशान्ति भएको हो भने उहाँले शासन सत्ताको इच्छा राख्ने होइन्’उनले भने–‘त्यसका लागि ध्यान गर्ने हो ।’ 

एमालेसँग स्पष्ट भिजन र मिसन भएको र पार्टीले विकासका दृष्टिकोण अगाडि बढाएको उनले बताए । उनले लोकतन्त्रसँग निरकुंशता साट्न नसकिने बताए ।

त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले २०७४ सालमा एमालेले जारी गरेको घोषणापत्रमा ६२ बुँदामध्ये पाँचवर्षे कार्यकालमा ५४ वटा पूरा गरेको बताए । ‘पाँचवर्षमा सिद्धार्थनगर नगरपालिकामा धेरै काम व्यवस्थित गरेका छौं । यो एमालेको योगदान हो’उनले भने–‘कुनै दुई–तीनजना व्यक्तिको योगदान मात्र होइन् । एमाले कमजोर छ भनेर कसैले नसोचोस् ।’ एमालेको कुनै पनि कार्यकर्ताले शिर निहुराउन नपर्ने उनले दावी गरे ।

पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले मुलुकमा राजनीतिक अस्थिरताका लागि केही प्रतिगामी शक्तिले शिर उठाउन र जनतालाई दिगभ्रमित गर्न खोजेको बताए । उनले एमाले सधै जनताको सारथी बनेर अघि बढेको बताए । 

‘मुलुकको उन्नति र विकासको लागि बाधक निरंकुशताको अन्त्य भएको छ । राजाको नाममा जनतालाई दिगभ्रमित गर्ने प्रयास भइरहेको छ ’उनले भने–‘नेपाली जनताले प्रतिगमन मन पराउँछन् भनेर सोच्नु दिवास्पन हो ।’ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुको विकल्प नरहेको उपाध्यक्ष पन्थीले बताए ।

एमाले जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले एमाले नेतृत्वको सरकारले जनमुखी कार्य गरेको बताइन । उनले दुई–चारजना सडकमा आउँदैमा देश पछाडी फर्किन नसक्ने दावी गरिन् । 

पार्टीको सिद्धार्थनगर कमिटी अध्यक्ष चक्र बहादुर थापाले गणतन्त्रको विरुद्धमा आउने शक्तिलाई परास्त गर्न एमाले तयार रहेको बताए । उनले राजतन्त्रको बेला भएका काम र गणतान्त्रिक व्यवस्था आइसकेपछि भएका विकासबारे तुलना गरे धेरै कुरा थाहा हुने बताए । 

एमाले जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर–९ का इञ्चार्ज डिजाइन थापाको अध्यक्षता, सचिवालय सदस्य उमा अधिकारीको स्वागत तथा सचिवालय सदस्य एवं सिद्धार्थनगर–९ इञ्चार्ज सीता ढुंगाना काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

IMG_0584.JPG

एमालेले सिद्धार्थनगरका विभिन्न वडामा जनजागरण कार्यक्रम गरेको जिल्ला सदस्य तथा सिद्धार्थनगर–४ का इञ्चार्ज कृष्ण मल्ल ठकुरीले बताए ।