२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

पत्रकार महासंघ रुपन्देहीले फुटसल प्रतियोगिता आयोजना गर्दै

सोमवार , चैत्र १०, २०८१

  • 667
    Shares
  • 667
    Shares
  • बुटवल, ११ चैत । नेपाल पत्रकार महासंघ, रुपन्देहीले ७० औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता–२०८१ आयोजना गर्ने भएको छ । स्थापना दिवसको अवसरमा सञ्चार संस्थाहरुका बीचमा एफएनजे मिडिया कप फुटसल प्रतियोगिता र संघ–संस्थाहरुका बीचमा शाइन रेसुंगा कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेको महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष विश्वास ढकालले जानकारी दिए। 

    ’प्रतियोगिताले सञ्चार संस्थाहरु र पत्रकारहरुका बीचमा आपसी सम्बन्ध विस्तार गर्न मदत पुर्याउनेछ । साथै, व्यवसायिक र पेशागत संघ–संस्थाहरूबीच आपसी भाइचारा, सहकार्य, र स्वस्थ प्रतिष्पर्धा प्रवद्र्धन गर्ने हाम्रो विश्वास छ’–उनले भने ।   

    उनका अनुसार यो प्रतियोगिताबाट बचत भएको रकम नेपाल पत्रकार महासंघ रुपन्देहीको पत्रकार कल्याणकारी कोष, लेखनवृत्ति कोष, सुत्केरी कोष र खेलकुद पत्रकारिता पुरस्कार कोषमा  जम्मा गरिनेछ। 
    यही चैत १६ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगिताअन्तरगत १६ गते मिडिया कप र १७ र १८ गते कर्पोरेट कप आयोजना हुने सचिव सी.पी. खनालले जानकारी दिए । 

    बुटवल उपमहानगरपालिका–११ देवीनगर, नमूना पथस्थित ग्रीनफिल्ड फुटसल कोर्टमा हुने प्रतियोगितामा ११ वटा सञ्चार संस्थाहरु सहभागी हुने उनले बताए । प्रतियोगिता संयोजक तथा महासंघ रुपन्देहीका सहसचिव सुमन श्रेष्ठका अनुसार लुम्बिनी टेलिभिजन, लुम्बिनी अनलाइन, सबलपोष्ट डट कम, बुद्ध टेलिभिजन, ग्लोबल आवाज, राज्य टेलिभिजन, मेचीकाली दैनिक, गर्जन पोष्ट,  बुटवल टुडे दैनिक, तिलोत्तमा सिटी न्युज् र समता टेलिभिजनले टीम दर्ता गराएका छन् । 

    कर्पोरेटतर्फ टीम दर्ताका लागि १२ गते सम्म समय रहेकाले संघ–संस्थाको टीम दर्ताको कार्य चलिरहेको उनले बताए । प्रतियोगितामा मिडिया कपका विजेताले १७ हजार ७ सय ७७ र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७ हजार ७ सय ७७ र अन्य विधागत पुरस्कार रहेको संयोजक श्रेष्ठले बताए  । 

    त्यस्तै कर्पोरेटतर्फ विजेतालाई २५ हजार र ट्रफी तथा उपविजेतालाई १५ हजार र ट्रफी प्रदान गरिने उनले बताए । बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको मुख्य प्रायोजक शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रवर्द्धकमा तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका रहेका छन् ।  प्रतियोगितामा सहभागी सबै खेलाडीको बीमा गर्ने व्यवस्था गरिएको उनले बताए ।