आइतवार , चैत्र ९, २०८१
भैरहवा, १० चैत । सामूहिक विद्यालय परिवार, रुपन्देहीको २४ औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार पाल्पामा भएको साधारण सभा तथा अधिवेशनले समसाद इद्रासीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
परिवारको उपाध्यक्षमा चन्द्र प्रकाश न्यौपाने, सचिवमा प्रमोद यादव, कोषाध्यक्षमा राजेश यादव र सह–सचिवमा दिपक थापा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सफल बस्नेत, प्रेम क्षेत्री र कमल कोइराला निर्वाचित भएका छन् ।
सामूहिक विद्यालय परिवारका अध्यक्ष बसन्त पाण्डेको अध्यक्षता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश कोषाध्यक्ष महेश भूर्तेलको प्रमुख आतिथ्यता, परिवार उपाध्यक्ष समसाद इद्रीसीको स्वागत तथा सचिव सृजना पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महेश भुर्तेल, पूर्व अध्यक्षहरू राजकुमार गुरुङ, गोकुल पोखरेल, मनोज कुमार यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाले सचिव सृजना पाठकको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रमोद यादवको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।

वि.सं. २०५९ सालमा स्थापना भएको सामूहिक विद्यालय परिवारमा हाल २० वटा विद्यालयहरु आबद्ध छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij