२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

एभरेष्ट माविमा विद्यार्थीको स्वागत, विदाई तथा सम्मान

सोमवार , चैत्र ३, २०८१

  • 634
    Shares
  • 634
    Shares
  • बुटवल, ४ चैत । रुपन्देहीको बुटवलस्थित सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा विद्यार्थीको स्वागत, विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कक्षा १२ का विद्यार्थीलाई बिदाई तथा कक्षा १२ का विद्यार्थीले कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीलाई स्वागत गरेका हुन् । 

    कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले शिक्षामा देखिने विवाद अन्त्यका लागि शैक्षिक संस्थाहरुलाई एकैखालको नीतिमा राख्नुपर्ने बताइन् । उनले बुटवल उपमहानगरले शिक्षा नीतिका सवालमा सकारात्मक भुमिका खेल्दै सबैखाले शिक्षालयहरुलाई उनीहरुकै अनुकुल सञ्चालनको भूमिका निर्वाह गर्ने खालको नीति ल्याउने तयारीमा रहेको बताइन् । 

    कार्यक्रममा परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षा अध्ययन गर्न तयार भएका विद्यार्थीले मिहिनेत, लगन र अनुशासित हुन आवश्यक रहने भन्दै सोहीअनुसार अध्ययन गर्न आग्रह गरे ।

    कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई भविष्यमा काम लाग्ने संस्कारयुक्त शिक्षालाई विद्यालयले जोड दिदै आएको उल्लेख गरे । उनले सैद्वान्तिकसँगै व्यवहारिक र काम लाग्ने खालको सिकाईलाई विद्यालयले जोड दिदै आएको बताए । उनले विद्यार्थीलाई समयानुकुल सबैखाले ज्ञान दिन जरुरी रहेको बताउँदै समयसमयमा विभिन्नखाले प्रतिष्पर्धात्मक कार्यक्रम र ज्ञानबर्धक कार्यक्रमलाई एभरेष्टले महत्व दिदै आएको बताइ ।

    कार्यक्रममा माध्यमिक शिक्षा शाखा बुटवलका प्रमुख टीकाराम पन्थी, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरी पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, विद्यालय सञ्चालक समिति अध्यक्ष गमप्रसाद रेश्मी, उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, विद्यार्थी डेबीड खनाल, नेहारिका ज्ञवालीलगायतले उच्च शिक्षा अध्ययनका लागि अग्रसर र माध्यमिक तहका लागि अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सफलता र उत्कृष्टताको शुभकामना दिएका थिए ।

    कक्षा ११ मा अध्ययनरत विद्यार्थी सृजल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कक्षा १२ लाई बिदाई तथा १२ कक्षाका विद्यार्थीले ११ कक्षाको विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीको स्वागत गरेको विद्यालयका सह–प्राचार्य भिमसेन गौतमले जानकारी दिए ।

    सोही कार्यक्रममा उत्कृष्ट क्याप्टेन, उत्कृष्ट प्राध्यापकलाई सम्मान समेत गरिएको सह–प्राचार्य गौतमले जानकारी दिए । शिक्षक माधव पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विज्ञान र व्यवस्थापन अध्ययन गर्ने झण्डै ८ सय विद्यार्थीले एक–अर्कालाई स्वागत तथा विदाई गरेका थिए भने विद्यार्थीहरुले साँस्कृतिक प्रंस्तुतिहरु समेत प्रदर्शन गरेका थिए ।