२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

जसपा नेपाल लुम्बिनी प्रदेशको बैठक : के–के भए निर्णय ?

सोमवार , चैत्र ३, २०८१


भैरहवा, ४ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिको बैठक आइतबार दाङको देउखुरीमा सम्पन्न भएको छ । जसपा लुम्बिनी प्रदेशका अध्यक्ष राम अवतार यादवको अध्यक्षता तथा पार्टीका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्माको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले २०८१ चैत मसान्तसम्म टोल, वडा, स्थानीय पालिका र जिल्ला अधिवेशन गर्ने, २०८२ वैशाख १० गतेसम्म जिल्ला र प्रदेशस्तरको भातृ संगठनहरुको अधिवेशन गर्ने, चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हरेक तहका नेताहरूले सक्रिय रूपमा सहयोग गर्ने निर्णय गरेको जसपा लुम्बिनी प्रदेशका अध्यक्ष राम अवतार यादवले बताए ।

त्यस्तै चैत ६ गते बाँकेमा हुने समाजवादी महिला संघ लुम्बिनी प्रदेश समितिको अधिवेशन तथा चैत २३ र २४ गते रूपन्देहीमा हुने समाजवादी विद्यार्थी युनियन नेपालको केन्द्रीय महाधिवेशन भव्य रूपमा सम्पन्न गर्ने र २०८१ चैत ५ सम्म प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्लाले पार्टी सदस्यता अद्यावधिक गर्ने निर्णय गरेको छ ।

त्यसै गरी स्वर्गद्वारी मोही किसान गूठी संघर्ष समितिको महिनौदेखि अधिकारको लागि काठमाडौंमा भइरहेको आन्दोलनप्रति जसपा नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘आन्दोलनरत संघर्ष समितिको न्यायोचित मागप्रति हाम्रो पार्टीको ऐक्यवद्धता  छ । साथै उक्त संघर्ष समितिको माग तत्काल पूरा गर्न सरकारसँग अपील गर्दछ, ’प्रदेश अध्यक्ष यादवले भने ।

राष्ट्रिय राजनीतिमा देखिएको संकटलाई केही तत्वहरु लोकतन्त्र र संविधान मास्ने  षडयन्त्रमा लागेकोले प्राप्त उप्लब्धीको रक्षा र अग्रगमनको लागि पार्टी अब आन्दोलनमा जाने र उक्त आन्दोलनलाई निर्णायक बनाउन सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई तयार रहन केन्द्रिय महासचिव रामकुमार शर्माले निर्देशन दिनुभएको लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले बताए ।

WhatsApp Image 2025-03-17 at 8.40.46 AM.jpeg

बैठकमा पार्टीका केन्द्रिय पदाधिकारी तथा सदस्य, प्रदेशका पदाधिकारी, सदस्य, प्रदेश विभागका प्रमुख, तराई थरूहट राष्ट्रिय समितिका अध्यक्ष  प्रदेश भातृ संगठनका अध्यक्ष  र जिल्ला अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।