२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पूर्वमन्त्री शुक्लको आग्रह : सबै मिलेर देशको विकासमा लागौं

शुक्रवार , फाल्गुण ३०, २०८१

भैरहवा, १ चैत । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ सह–अध्यक्ष तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लले सबै मिलेर देशको विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । उनले जनताको साथ लिएर देशलाई अगाडि बढाउने सबै दलको मुद्दा हुनुपर्ने बताए ।

लोसपा रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेता शुक्लले यस्तो बताएका हुन् । ‘देश अहिले जटिल परिस्थितिबाट देश गुज्रिरहेको छ । जनताको अपेक्षा पूरा हुन सकेका छैनन्, जनताको साथ लिएर सबै मिलेर देश बनाउनेतर्फ लागौं, ’उनले भने ।

उनले देशलाई अगाडि बढाउने मानसिकताका साथ बस्न सबैलाई आग्रह गरे । रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका शुक्लले होलीको रंगको आफ्नै विशेषता र चरित्र भएको बताए । ‘होली पर्वले सबैलाई एकै ठाउँमा ल्याउँछ । मान्छले होलीमा सबै रिस बिर्सन्छ । यो पर्वले आपसी सदभाव बढाउँछ, ’नेता शुक्लले भने ।

Sarvendra.jpg

त्यस्तै लुम्बिनी प्रदेशका पूर्व गृहमन्त्री तथा प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले राजनीतिक र कर्मचारी क्षेत्रमा सुधार आजको आवश्यकता रहेको उल्लेख गरे । ‘नेता र कर्मचारीले जनतालाई सेवा दिनुपर्छ, ’उनले भने । 

लोसपा लुम्बिनी प्रदेशका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका पाण्डेयले सबै दल मिलेर राष्ट्रको विकासमा लाग्नुपर्ने बताए । ‘२०८४ को निर्वाचन आएपछि पार्टी हेरौंला, २०८४ सम्म मिलेर अगाडि बढौं, ’उनले भने ।

प्रदेशसभा सदस्य तथा लोसपा संसदीय दलको प्रमुख सचेतक हेमा बेल्बासे (के.सी.) होलीको रंगको महत्व रहेको बताइन् । उनले सबै मिलेर देशको विकासमा लाग्नुपर्ने जोड दिइन् ।

कार्यक्रममा नेकपा (एमाले) रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धार्थनगरका सभापति पर्शुराम पराजुली, जनता समाजवादी पार्टी, नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादव, नेकपा (एकीकृत समाजवादी) का नगर अध्यक्ष सार्दुल मयूर कसौधन, नेपाली काँग्रेसका नेता कुमार के.सी., सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, क्षत्री समाज, नेपाल सिद्धार्थनगरका अध्यक्ष मिलन बस्नेत, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई लगायतले भनाइ राखेका थिए ।

लोसपा रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियारको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य मोहम्मद इस्लाम खाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

WhatsApp Image 2025-03-13 at 2.07.07 PM.jpeg