२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

दुर्गा मोडेल एकेडेमीमा शुभकामना आदानप्रदान तथा बिदाई

बिहिवार , फाल्गुण २९, २०८१

  • 727
    Shares
  • 727
    Shares
  • भैरहवा, २९ फागुन । दुर्गा मोडेल एकेडेमी सियारी गाउँपालिका–२ चंठा रुपन्देहीमा अध्ययरत कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० विद्यार्थीहरुलाई शुभकामना आदानप्रदान तथा बिदाई कार्यक्रम गरेका छन् । कक्षा ९ का विद्यार्थी भोला लोधको अध्यक्षता तथा सियारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुधिर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

    कार्यक्रममा प्रमुख अतिथि पौडेलले विद्यार्थीहरु अध्ययनशील र अनुशासित हुनुपर्ने बताए । उनले मिहिनेत र लगनशील भएमा मात्र विद्यार्थीहरु सजिलै सफलता पाउने बताए । उनले गत वर्ष सियारी गाउँपालिका अन्तर्गत संस्थागत विद्यालयका ९० प्रतिशत र सामूदायिक विद्यालयको ४० प्रतिशत गरी समग्रमा ५० प्रतिशत एसईईको नतिजा आएको बताउँदै एसईई दिने विद्यार्थीहरुलाई परीक्षामा नआत्तिन आग्रह गरे । उनले दुर्गा मोडेल एकेडेमीले छोटो समयमा नै धेरै फड्को मारेको बताए । 

    त्यस्तै मैनहिया माध्यमिक विद्यालयका प्र्रधानाध्यापक विष्णु प्रसाद गौतमले दुर्गा मोडेल एकेडेमीका विद्यार्थी र यो कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको बताए  । उनले विद्यालयका शिक्षकले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न नसक्ने बताए ।

    दुर्गा मोडेल एकेडेमीका प्रधानाध्यापक सुरेश बरईले विद्यार्थीको सफलतामा शिक्षक पनि उत्तिकै खुसी हुने भएकोले यहाँबाट जाने विद्यार्थीहरुको साथमा यस विद्यालयको साथ सधै रहने प्रतिवद्धता व्यक्त गरे ।
    दुर्गा मोडेल एकेडेमीका सह–प्रधानाध्यापक विजय कुमार बरईले विद्यार्थीहरुको अमूल्य गहना नै अनुशासन भएकोले विद्यार्थीहरु सधै अनुशासित र लगनशील हुनुपर्ने बताए ।

    देविका रानाको स्वागत नृत्य रहेको कार्यक्रममा कक्षा १० विद्यार्थी आयुष चौधरी, आयुषा खनाल, शिक्षक सतिश कोहार, केशव यादव, निमा अधिकारी, कक्षा १० की छात्रा रेनु सहानी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    विद्यालयका शिक्षक प्रदिप सक्सेनाको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालयका कर्मचारी तथा अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयमा हाल ७ सय भन्दा बढी विद्यार्थी अध्ययनरत र ३० जना शिक्षकशिक्षिकाहरुले अध्यापन गराउँदै आएका छन् ।