२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

होली पर्व सभ्य एवं सुरक्षित रुपमा मनाउनुपर्नेमा जोड

बिहिवार , फाल्गुण २९, २०८१

भैरहवा, २९ फागुन । फागू पूर्णिमा (होली पर्व) सभ्य एवं सुरक्षित रुपमा मनाउनपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले होली पर्वलाई सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन आग्रह गरेका हुन्।

हिन्दूहरुको महान चाड होलीको अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका २ नम्बर वडा कार्यालयले बुधबार आयोजना गरेको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि भैरहवा नमूना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा पूर्व जनप्रतिनिधि मुकुन्दमणि त्रिपाठीले हिन्दू धर्मावलम्बीहरुले सदियौंदेखि होली पर्व हर्षोल्लासका साथ मनाउँदै आएको बताए। उनले यो पर्वका धेरै राम्रा पक्षहरु भएको बताए । ‘पर्वको नाममा केही विकृति भित्रिएका छन् । ती विकृति हटाउँदै जानुपर्छ । सुधार पनि भएको छ ’उनले भने ।  

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले सभ्य रुपमा होली मनाउन आग्रह गरे । ‘पर्वको नाममा गलत कार्य गर्ने छुट कसैलाई छैन ।
अभिभावकले आफ्ना सन्तानको हेरचाह र निगरानी गर्नुपर्छ । गलत कार्यलाई निरुत्साहित गर्न सके मात्र समाज सुधारतर्फ अघि बढ्छ, ’यादवले भने । उनले २ नम्बर वडा कार्यालयले कार्यक्रममा खादा र मालाको प्रयोग नगरेको भन्दै वडा कार्यालयलाई धन्यवाद दिए ।

सिद्धार्थनगर–२ का अध्यक्ष छेदीलाल श्रीवास्तवले होली पर्वमा एक–अर्कालाई रंग लगाएर रिस, राग हटाउनुपर्नेमा जोड दिए । सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले असत्यमाथि सत्यको जीतको रुपमा होली पर्व मनाइने गरेको बताए । सिद्धार्थनगर–१ का अध्यक्ष उज्जवल पोखरेलले उत्साह र उमंगका साथ होली पर्व मनाउन आग्रह गरे ।

वडा नम्बर १० का वडाअध्यक्ष सुर्जमन यादवले होलीमा रिस, राग बिर्सेर एकआपसमा मिलेर बस्ने संकल्पका साथ अगाडि बढ्नपर्नेमा जोड दिए ।

प्रहरी चौकी मेउडिहवाका प्रमुख प्रहरी सहायक निरीक्षक राजकुमार खत्रीले प्रहरीले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने र कुनै घटना भइहाले तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे ।

कार्यक्रममा समाजसेवी सुनिल कुमार पुन, श्री मेउडिहवा आधारभूत विद्यालयका प्रधानाध्यापक आशा थापा, मेउडिहवा सामूदायिक धर्मशालाका अध्यक्ष श्याम कोहार, दुर्गा मन्दिर समाजका अध्यक्ष संजीव गुरुङ प्रज्ञान टोल सुधार समितिका अध्यक्ष सतिष कुमार पाण्डे लगायतले भनाइ राखेका थिए ।

सिद्धार्थनगर–२ का अध्यक्ष छेदीलाल श्रीवास्तवको अध्यक्षता, वडा सदस्य कञ्चन थापाको स्वागत तथा वडा सचिव हिरा बरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।