२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

चैत २ गते भैरहवामा धम्म यात्रा

बिहिवार , फाल्गुण २२, २०८१

  • 727
    Shares
  • 727
    Shares
  • भैरहवा, २२ फागुन । पाँचसय जनाको कुलपुत्र प्रवज्या कार्यक्रम अन्तर्गत आगामी चैत २ गते शनिबार रुपन्देहीको भैरहवामा बुद्धको अस्तुधातुसहितको धम्म यात्रा हुने भएको छ । अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ र लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपालको सहआयोजनामा धम्मयात्रा हुने भएको हो । 

    बुद्ध जन्मस्थल लुम्बिनीमा भइरहेको पाँच सयजना प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु सहभागी हुने गरी बृहत धम्म यात्रा तय गरिएको आयोजकले जनाएका छन् । बौद्ध समाज नेपालले भैरहवामा पत्रकार सम्मेलन गरी भैरहवास्थित सिद्धार्थ रंगशालादेखि बुद्धचोक (लुम्बिनीगेट) सम्म धम्मयात्रा हुने जनाएको जनाएको हो ।

    पत्रकार सम्मेलनमा धम्कायका सल्लाहकार डा. आदिसकले गत वर्ष भैरहवामा गरिएको धम्म यात्राले बुद्धको सन्देशलाई स्थानीयसम्म पुर्याउन ठूलो सहयोग गरेको बताए । उनले यो वर्ष पनि धम्म यात्रामा सहभागी हुन आग्रह गरे । 

    धम्कायका अध्यक्ष भन्ते फ्रा थाभोर्न थाभ्राले गत वर्ष १२५० जनाको श्रामणेर गरिएकोमा यो वर्ष पाँचसय जनाको गरिएको बताए । उनले श्रामणेरमा प्रवजित अल्पकालिन भिक्ष, भन्तेहरुले धम्म यात्रा सरिक हुने बताए ।
    बुद्धका उपदेश र शिक्षालाई फैलाउनका लागि धम्मयात्रा फलदायी हुने उनको विश्वास छ ।

    पत्रकार सम्मेलनमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुर्वणलाल बज्राचार्य, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, लुम्बिनी विकास कोषका बोर्ड सदस्य राजेश शाक्य लगायतले धम्मयात्राले बुद्धको उपदेशलाई स्थानीयहरुसमक्ष पुर्याउन योगदान गर्ने बताए ।

    चैत २ गते शनिबार दिउँसो १ बजे भैरहवामा विशेष उत्सवका रुपमा धम्म यात्रा गरिने बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाले बताए । स्थानीय सरकार, संघ–संस्थासहित लुम्बिनीको प्रवेशद्वार भैरहवा क्षेत्रबाट सहयोग प्राप्त हुने उनले बताए । त्यसै गरी बुटवल र  देवदहमा पनि धम्म यात्रा हुने समाजका महासचिव राधिका पुनले बताइन् ।