
बुधवार , फाल्गुण २१, २०८१
भैरहवा, २१ फागुन । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीले आफ्नो चौथो स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । सियारी गाउँपालिका वडा नम्बर ४ स्थित श्री बाल कल्याण प्राथमिक विद्यालयका १२० बढी विद्यार्थीहरूलाई शैक्षिक सामग्रीका साथै खेलकुद सामग्री वितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष प्रसन्न अधिकारीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले क्लबले निकै नै राम्रो काम गरेको बताए । उनले स्थानीय सरकारबाट पनि संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विशिष्ट अतिथि डिआरआर विक्रम क्षेत्रीले रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी निकै सक्रिय संस्था रहेको बताए । संस्थाले सामाजिक कार्यहरू पनि राम्रो तरिकाले गरिरहेको भन्दै संस्थालाई गर्नुपर्ने सहयोग सदैव आफ्नो तर्फबाट गरिरहने बताए ।
सियारी वडा नम्बर ४ का वडाअध्यक्ष श्रीराम यादवले वडा अन्तर्गत रहेको विद्यालयलाई छनौट गरी क्लबले सहयोग गरेको भन्दै धन्यवाद दिए । क्लबका संस्थापक अध्यक्ष घनश्याम उपाध्यायले आफ्नो नेतृत्वमा स्थापना भएको क्लबले सक्रियताका साथ सामाजिक कार्यहरु भन्दै खुसी व्यक्त गरे ।
क्लबकी अध्यक्ष करुणा भुसालले देउसीभैलोबाट संकलित र क्लबका सदस्यहरुबाट संकलित रकमबाट सामाजिक कार्यहरु गरेको बताइन् । उनले विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताइन् ।
विद्यालयका प्रधानाध्यापक नगेन्द्र यादवले क्लबले प्रदान गरेका शैक्षिक सामग्रीले विद्यार्थीहरुलाई धेरै नै सहयोग पुग्ने बताए ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीकी सदस्य संचिता ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दुर्लभ पराजुली, डिष्ट्रिक सचिव सुबिन खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार भण्डारी लगायतले भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij