२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

अल नेपाल ओपन स्नुकर च्याम्पियनसीपमा आज क्वाटर फाइनलका चार खेल

मंगलवार , फाल्गुण २०, २०८१

  • 511
    Shares
  • 511
    Shares
  • बुटवल, २० फागुन ।  रुपन्देहीको बुटवलमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपमा मंगलबार (आज) क्वाटर फाइनलका चार खेल हुँदैछन् । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा बिहान ११ः३० बजे देखि दुई र दिउँसो ३ः३० बजेदेखि दुई खेल हुने आयोजक नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीले जनाएको छ । 

    बिहानको खेलमा बुटवलका रेगन श्रेष्ठ र हेटौडाका नितेश खण्डवाल तथा काठमाडौंका सविन तामाङ र बिर्तामोड झापाका सरोज गौतमबीच सेमीफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने खेल संयोजक शिशिर गुरुङले जानकारी दिए । रेगन हालै श्रीलंकामा सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल खेलाडी हुन् । त्यस्तै दिउँसोका दुई खेलमा काठमाडौंका वाङ्चु तामाङ र काठमाडौंकै तेन्जिङ तामाङ तथा काठमाडौंका कुमार शाही ठकुरी र हेटौंडाका सोम लामाबीच प्रतिष्पर्धा हुने गुरुङले बताए । 

    फागुन १२ देखि जारी प्रतियागितामा रुपन्देहीका ५० जनासहित देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैयाँ, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ, सेमीफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैयाँ, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए । 

    स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाबाट मुख्य आर्थिक सहयोग भएको छ भने बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका महेश थैवबाट १ लाख रुपैयाँ आर्थिक सहयोग भएको संघका सचिव प्रकाश क्षेत्रीले बताए । फागुन २१ गतेसम्म चल्ने प्रतियोगिता निःशुल्क हेर्न पाइने आयोजकले व्यवस्था गरेका छन् । 

    नेपाल विलियर्डस स्नुकर तथा पुल संघका केन्द्रीय अध्यक्ष सरोज कुमार मुल्मीले नेपालमा  स्नुकर खेलको इतिहासमै बुटवलको प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको महाकुम्भ प्रतियोगिता भएकाले यसले स्नुकर खेलको उचाई थप माथि पुर्याउने बताए । प्रतियोगिता सम्पन्न गर्न कोषाध्यक्ष अमिन थापाको संयोजकत्वमा आर्थिक समिति, कुडूल श्रेष्ठको संयोजकत्वमा खेलाडी व्यवस्थापन समिति, विजय गुरुङको संयोजकत्वमा जिन्सी समिति गठन भएको छ ।