२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

होराईजन जिबीएसले जित्यो अक्सफोर्ड जिल्लास्तरीय वेभ डिजाइनको उपाधि

सोमवार , फाल्गुण १९, २०८१

  • 871
    Shares
  • 871
    Shares
  • बुटवल, १९ फागुन । बुटवलमा भएको अक्सफोर्ड जिल्लास्तरीय अन्तर विद्यालयस्तरीय वेभ डिजाइन एण्ड डेभलपमेन्ट कम्पिटिशनको उपाधि पिक्सेल फोर्ज समूहले जितेको छ । अक्सफोर्ड कलेज बुटवलको आईटी क्लब अफ अक्सफोर्डको आयोजनामा भएको प्रतियोगितामा होराईजन जिबीएस ड्राइभरटोलको  पिक्सेल फोर्ज समूहले उत्कृष्ट वेभ डिजाइनको उपाधि जितेका हो । रुपन्देहीको कक्षा ११ र १२ मा अध्ययन गर्ने विभिन्न विद्यालयका २७ प्रतिष्पर्धी विद्यार्थी समूहहरुलाई उछिन्दै पिक्सेल फोर्जले वेभ डिजाइन एण्ड डेभलपमेन्ट कम्पिटिशनको उपाधिसहित नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त पारेको हो ।
     
    प्रतियोगितामा अक्सफोर्ड माविको लजिक विल्डर्स द्वितीय र अक्सफोर्ड माविकै कोडेक्स समूह तृतीय भएको छ । प्रतियोगितामा द्वितीय र तृतीय भएका समूहले क्रमशः ७ हजार र ५ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक अशोक गुरुङले जानकारी दिए ।
     
    कार्यक्रमको उद्घाटन गर्दै कलेज सञ्चालक समिति अध्यक्ष डा. अजित खनालले समयअनुसार खोज र अनुसन्धान गर्नै शैलीको पनि विकास भएकाले सूचना र प्रविधिको विकाससँगै त्यसलाई चिन्न र अध्ययन गर्न आवश्यक रहेको बताए । उनले सूचना र प्रविधिको प्रयोगले विद्यार्थीको बौद्धिक क्षमताको विकास हुने भएकाले अधिकतम प्रयोगका लागि आग्रह समेत गरे । 

    कार्यक्रममा कलेज प्रमुख मनोज मरासिनीले अहिलेको युगमा विद्यार्थीको भविष्य सूचना र प्रविधिसँग जोडिएकाले नयाँ युग र समय अनुसारको सूचना प्रविधिलाई अनुसरण गर्दै जानुपर्ने बताए । उनले विद्यार्थीलाई सबैखाले ज्ञान र सीपको आवश्यक पर्ने भएकाले कलेजले समयसमयमा सूचना प्रविधिसँगै विद्यार्थीको भविष्यलाई सुनिश्चित गर्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

    कार्यक्रममा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले विगतमा कृषि र पर्यटनमा सम्भावना देखिएझै अबको समय सूचना प्रविधिकै भएको बताए । उनले धेरै भन्दा धेरै सम्भावना बोकेको सूचना प्रविधिको प्रयोग र नयाँ खोज अनुसन्धानमा विद्यार्थी लाग्नुपर्ने सुझाव दिए ।

    आईटी क्लब अफ अक्सफोर्ड कलेजका अध्यक्ष वर्षा गाहाको अध्यक्षतामा भएको कार्यक्रममा अक्सफार्ड माविका प्राध्यापक सुमन भुसाल, बीएचएम कोर्डिनेटर ओमबहादुर खत्री, विद्यार्थी पे्ररणा भुसाल लगायतले विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय आकृति सुवेदी र सम्झना थापाले गरेका थिए ।