२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

मुख्यमन्त्री आचार्य भन्छन्–खेल पर्यटनको सम्भावना बढ्दै गएको छ

बुधवार , फाल्गुण १४, २०८१

  • 736
    Shares
  • 736
    Shares
  • कपिलवस्तु, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै गएको बताएका छन् । दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने आधार तयार भएकोमा खुसी व्यक्त गरेका हुन् ।

    मुख्यमन्त्री आचार्यले खेलकुद प्रतिष्पर्धा, अनुशासन र पारदर्शीता सिक्ने माध्यम भएकाले यसलाई जीवन पद्दतिसँग जोड्न सकिने उल्लेख गरे । उनले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा खेल पूर्वाधारको विकास गर्न सकिने बताउँदै कपिलवस्तुमा रंगशाला निर्माणका लागि सरकारले साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    ‘खेल पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ खेलाडी उत्पादनका लागि नियमित प्रतियोगिताहरू आयोजना गर्न प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ,’मुख्यमन्त्री आचार्यले भने, ‘कपिलवस्तुमा रंगशाला निर्माणका लागि स्थानीय सरकारका प्रमुखसँग मेरो छलफल भइसकेको छ । आगामी वर्षको सम्पूरक बजेटमार्फत यसलाई सम्बोधन गर्न सरकारले आवश्यक पहल लिनेछ । समझदारीका आधारमा यो आयोजनालाई अगाडि बढाउने छौं ।’ लुम्बिनी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन खेलकुदले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कपिलवस्तु जिल्ला फुटबल संघलाई धन्यवाद ज्ञापन गरे ।

    फुटबल संघका अध्यक्ष तिलक थापाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थी, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल लगायतको उपस्थिति थियो । प्रतियोगितामा विभिन्न ८ समूहले सहभागीता जनाएका छन् ।