२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लुम्बिनी प्रादेशिक अस्पतालको लगातार उत्कृष्ट नतिजा, एमएसएस मूल्यांकनमा नेपालकै प्रथम

आइतवार , फाल्गुण ११, २०८१

बुटवल, ११ फागुन । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालहरुको उक्त मूल्यांकनमा देशभरका अस्पतालहरुमध्ये सबैभन्दा बढी ८९ अंक प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो ।

अस्पतालमा आइतबार आयोजित सेवा मूल्यांकन समीक्षा कार्यक्रममा यहाँ उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले सेवालाई थप विस्तार र विशिष्टिकृत गर्दै लैजान आग्रह गरे । प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट व्यवस्थापनमा तयार रहेको उल्लेख गरे । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले प्रदेशको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउने गरी प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले न्युनतम स्वास्थ्य सेवा मापदण्ड मूल्यांकनमा प्राप्त अहिले नतिजा प्रयाप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे । श्रेष्ठले न्यूनतम सेवा मूल्यांकनका मादण्ड अनुसारका आधारभूत कुराहरुको व्यवस्थापनमा सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले नीति बनाउँदा कार्यान्वयनको पाटोलाई समेत ध्यान राख्न आग्रह गरे । त्यसै गरी अस्पतालको निर्माणाधिन भवनबाट स्वास्थ्य सेवा सञ्चालनका लागि अहिलेदेखि नै सञ्चालन कार्यविधि (ओएमएस) निर्माण गर्नुपर्नेमा जोड दिए । 

अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले हालसम्म भएका कार्यप्रगति र भावी योजनाबारे जानकारी गराए । अस्पतालमा सेवा विस्तार कार्यक्रम अन्तरगत गाइनोतर्फ डेडिकेटेट अपरेशन थिएटर सञ्चालन, डिजिटल पेमेन्ट सेवा, एसएमएसमार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा विस्तार, चौबिसै घण्टा बीमा सेवा कार्यक्रम, सामाजिक सेवा इकाई सञ्चालन लगायतका कार्यहरु भएको जानकारी गराए । वेस्ट म्यानेजमेन्टका लागि अटोक्लिप मेशिनको प्रयोग तथा प्रशोधनगरी बाहिर पठाउने व्यवस्था, आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु लगायतका काम भइरहेको बताए । 

a9a4c9f5-0369-4afe-be08-5e4985854707.jpg

अस्पतालमा हाल ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भइरहेको उल्लेख गरे । अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।