२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

प्रकृति लम्साललाई न्याय दिन माग गर्दै विद्यार्थीहरुद्वारा मसाल जुलुस प्रदर्शन

आइतवार , फाल्गुण ११, २०८१

  • 811
    Shares
  • 811
    Shares
  • भैरहवा, ११ फागुन । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत रुपन्देहीको भैरहवाकी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनालाई लिएर विद्यार्थी संगठनहरुले भैरहवामा मसाल जुलुस प्रदर्शन गरेका छन् । उनीहरुले मृतक लम्सालको सम्झनामा दीप प्रज्वलन समेत गरेका छन् ।

    प्रकृति बहिनीलाई न्याय दे, विद्यार्थीप्रतिको अन्याय सहदैनौं, केआईआईटीलाई प्रतिबन्ध गर लगायतका नाराबाजी गर्दै निकालिएको मसाल जुलुस भैरहवाको देवकोटाचोकमा पुगेर सभामा परिणत गरिएको थियो ।
    सभामा नेपाल विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीका सभापति सन्दिप पाण्डेले घटनाप्रति दुःख व्यक्त गरे । उनले केआईआईटी विश्वविद्यालयमा विद्यार्थी पठाउने रुपन्देहीका कन्सलटेन्सीको छानबीन गर्ने र यदि केआईआईटी विश्वविद्यालयमा विद्यार्थी पठाएको पाइए उक्त कन्सलटेन्सीहरुलाई निषेध गरिने बताए । साथै, कन्सलटेन्सीहरुले केआईआईटीमा विद्यार्थी पठाउन नरोके उक्त कन्सलटेन्सीहरुमा तालाबन्दी गरिने उनले चेतावनी दिए ।

    त्यस्तै नेविसंघ भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका सभापति नवराज अर्यालले मृतक लम्सालले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताए । उनले मसाल आगोको सानो संकेत मात्र रहेको भन्दै न्याय नपाए जिल्लाभर आन्दोलन गर्ने चेतावनी दिए ।

    लोकतान्त्रिक विद्यार्थी संघ, नेपाल (लोविसंघ) का केन्द्रिय सचिव जैनुद्दीन देवानले केआईआईटी विश्वविद्यालयलाई रुपन्देही जिल्लामा प्रतिबन्ध लगाउन माग गरे । 

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस ईकाइ कमिटीका अध्यक्ष मनिष ढकालले घटनाको निष्पक्ष छानबीन गरेर दोषीमाथि कडा भन्दा कारवाही हुनुपर्ने माग गरे ।

    विद्यार्थीद्वारा निकालिएको मसाल जुलुस रोक्नका लागि प्रहरीले हस्तक्षेप गरेको लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का केन्द्रिय सचिव जैनुद्दीन देवानले बताए ।

    कार्यक्रममा नेविसंघ रुपन्देहीका कोषाध्यक्ष रोशन थापा, संघको सिद्धार्थनगर उपसभापति विराट गुरुङ, रुपन्देही क्याम्पस ईकाइ समितिका सभापति विधान भुर्तेल, भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका सचिव उमर बादशाह, लोविसंघ रुपन्देहीका संयोजक अमन बनिया, अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस ईकाइ कमिटी सचिव अंकित पौडेल लगायत विद्यार्थीहरुको उपस्थिति थियो ।